काठमाडौं ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा सातै प्रदेशबाट उक्त संख्यामा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो।
आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाको मनोनयन दर्ता भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा उम्मेदवारको मनोनयन परेको छ।
महिला समूहका लागि ४ दलका तर्फबाट, दलित समूहका लागि ३ दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ जना गरी बागमतीमा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
कोशी प्रदेशमा महिला समूहका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि ३ दलका तर्फबाट ५ जनाको मनोनयन दर्ता भएको छ। मधेश प्रदेशमा महिला समूहका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि ३ गरी जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
यस्तै, गण्डकी प्रदेशमा महिला समूहका लागि ३ दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि ३ जना गरी जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ दलका तर्फबाट र अन्य समूहका लागि ४ दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। कर्णाली प्रदेशमा महिला समूहका लागि २ दलका तर्फबाट, दलित समूहका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि २ जना दलका तर्फबाट गरी जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि २ जना गरी ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
समग्रमा सातै प्रदेशमा महिला समूहतर्फ१८जना, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
आयोगले पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सातै प्रदेशबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नामलिस्ट यसै विवरणमा उल्लेख छ ।
प्रतिक्रिया