राष्ट्रियसभाका लागि माओवादीले टुंग्यायो उम्मेदवार

राष्ट्रियसभाका लागि माओवादीले टुंग्यायो उम्मेदवार


काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो।

माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार पार्टीबाट मोटामोटी नाम टुंगो लागेको छ। अब गठबन्धनको बैठकमा छलफल भएपछि अन्तिम टुंगो लाग्छ। उनका अनुसार कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डाकीमा मनरुपा शर्मा, लम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द उम्मेदवार हुनेछन्।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ। ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ ।