काठमाडौं ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरेपनि नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ।
शनिबार विहानदेखि छलफलमा जुटेका सत्ता गठबन्धन दलहरूले अब एमालेसहित अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गर्दै १९ सिटको भागबण्डा गरेका थिए ।अनौपचारिकरुपमा अहिलेको भएको भागबण्डामा १० सिटमा कांग्रेस, ६ सिटमा माओवादी केन्द्र, २ सिटमा नेकपा एकीकृत समाजवादी र १ सिटमा जसपाले उम्मेदवारी दिने तय भएको छ। तर एकीकृत समाजवादीका नेताहरू भने असन्तुष्ट देखिएका छन्।
शनिबार साँझ बैठक नसकिदै एकीकृत समाजवादीका नेताहरू बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार विहान फेरि बस्ने गरी गठबन्धनको बैठक बोलाएका छन्।
शनिबार साँझ बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सिट बाँडफाँटका विषयमा लगभग सहमति भएको बताए। ‘अहिलेको छलफलले लगभग सहमतिनजिक पुगेका छौँ। आइतबार विहान सबै कुरा मिल्छ, त्यसपछि सोमबार हामी उम्मेदवारको मनोनयन गर्छोँ,’ लेखकको दाबी थियो। उनले अब अन्य दलहरूसँग गठबन्धनको सम्भावना भने टरेको बताएका थिए।
तर एकीकृत समाजवादी नेता राजेन्द्रप्रसाद पाण्डेले भने शनिबारको छलफलमा कुनै सहमति नभएको बताए। ‘अहिले केही कुरा मिलेको छैन। आइतबार फेरि छलफल हुन्छ,’ उनको भनाइ थियो।
एकीकृत समाजवादीले ४ सिटमा दाबी गरेको थियो । तर गठबन्धनमा दुई सिट मात्रै पाउने भएपछि नेताहरूले असन्तुष्टि जनाएका छन्।
गठबन्धनमा १३ सिट दाबी गरेको कांग्रेसले सबैलाई मिलाएर लैजान तयार रहेको प्रमुख सचेतक लेखकले दाबी गरे। ‘हामीले १३ सिटमा दाबी गरेको हो। देशभरिको हाम्रो मतदाताको संख्या र केन्द्रमा पनि कांग्रेसको उपस्थितिले हामीले त्यो दाबी गरेका हौँ। तर फेरि सबैलाई मिलाएर जाने कुरामा तयार छौँ,’ उनले भने।
सत्ता गठबन्धनकै दलहरू लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पनिएक–एक सिटमा दाबी गरेका थिए। तर प्रमुख दलहरूले मतभारका आधारमा गठबन्धन हुने भन्दै चार दलका बीचमा मात्रै भागबण्डा गर्ने तयारी गरेका छन्।
सिट बाँडफाँट बारे टुंगो लगाउन अहिले विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुँदैछ। आजको बैठकले सिटको टुंगो लगाउने र सोमबार विहानसम्म उम्मेदवारको टुंगो लगाएर मनोनयन दर्ता गर्ने दलहरूको तयारी छ।
प्रतिक्रिया