झन्डै चार महिनापछि संवैधानिक इजलास शुक्रबार बस्ने

झन्डै चार महिनापछि संवैधानिक इजलास शुक्रबार बस्ने


काठमाडौं, १८ फागुन । सर्वोच्च अदालतमा झण्डै चार महिनापछि संवैधानिक इजलास बस्ने भएको छ । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्न सकेको छैन। तर फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै इजलास बस्ने बाटो खुलेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन्। यसअघि जबरासँग एउटै इजलासमा नबस्ने न्यायाधीशहरुको अडानका कारण संवैधानिक इजलास बस्न सकेको थिएन । तर प्रधानन्यायाधीश राणा निलम्बनमा परेसँगै सर्वोच्चका काम कारबाही सहजरुपमा अगाडि बढेका हुन्। यसअघि हुन नसकेको न्याय सेवा आयोग र न्याय परिषद्को बैठक पनि नियमित बस्न थालेको छ ।
जबराले बैठक राख्न नसक्दा रोकिएका जिल्ला न्यायाधीशको नतिजा र न्यायाधीशहरुको सरुवा पनि अगाडि बढेको छ। संवैधानिक इजलास बस्ने भएसँगै संवैधानिक व्याख्या गर्नु पर्ने महत्वपूर्ण मुद्दाहरुको पनि सुनुवाई अगाडि बढ्ने छ । यसअघि केपी ओली प्रधानमन्त्री हुँदा गरिएका संवैधानिक आयोगका पदाधिकारीको नियुक्ती बदरको रिटमा पनि सुनुवाइ अगाडि बढ्ने सम्भावना छ ।
कात्तिक ७ गतेबाट प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीले आन्दोलन थालेका थिए। त्यसमा सर्वोच्चका सबै न्यायाधीशले पनि साथ दिएका थिए। सत्ता साझेदार दलहरुले पनि त्यसमा सहमती जनाउँदै फागुन १ गते महाअभियोग दर्ता गरेका हुन् । तर संसदमा महाअभियोग प्रस्ताव भने अगाडि बढ्न सकेको छैन। आगामी संसद बैठकमा उक्त प्रस्ताव अगाडि बढ्ने कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले बताएका छन् ।