काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरु फेरबदल गर्ने आन्तरिक तयारी सुरु गरेका छन्। सत्तारुढ गठबन्धन दलका नेतृत्वलाई दाहालले आफू मन्त्रीहरु हेरफेर गर्ने तयारीमा लागेको सूचना दिइसकेका छन्। तर गठबन्धन दलका नेताले राष्ट्रिय सभा निर्वाचनअघि हतार नगर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएको थाहा भएको छ।
आज मंगलबार राष्ट्रिय सभा निर्वाचनको प्रसंगमा परामर्श गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेताहरुसँग बसेका दाहाललाई मन्त्रिपरिषद् पुनर्गठनमा हतार नगरी सत्ता गठबन्धनको भावनाअनुसार अघि बढ्न सुझाव दिइएको बैठकमा सहभागी एक नेताले बताए।
राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले मन्त्रिपरिषद् हेरफेरलाईभन्दा राष्ट्रिय सभा निर्वाचनलाई बढी महत्व दिएकाले प्रधानमन्त्री त्यतिञ्जेल पर्खन तयार भएको थाहा भएको छ।
प्रधानमन्त्री दाहाल निकट सूत्रले मन्त्रिपरिषदमा हेरफेरको आन्तरिक तयारी भइरहेको संकेत गर्दै राष्ट्रिय सभाको निर्वाचनअघि भने त्यसले औपचारिकता नपाउने बतायो। कांग्रेस र अन्य गठबन्धन सदस्य दलहरुसँग परामर्श भइरहेको, उनीहरु पनि आफ्ना तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका सदस्यबारे पुनर्विचार गरिरहेको र फेरबदल हुँदा प्रतिनिधित्व गर्ने सदस्यको तयारी गरेर बस्ने सल्लाह भएअनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचन लगत्तै पुनर्गठन हुने प्रधानमन्त्री निकट सूत्रको भनाइ छ।
कांग्रेसका नेता शेखर कोइरालाले यो सरकारको विकल्पमाथि जोड दिँदै नियमित रुपमा आलोचना गरिरहेको कुराबाट प्रधानमन्त्री दाहाल सतर्क भएको बताइएको छ। कतै कांग्रेस नै यो गठबन्धनको विकल्प सोचिरहेको त छैन भन्ने आकलन गरेर दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निश्चित दूरीमा सहकार्यको संवाद गरिरहेको बालुवाटार सूत्रले बताएको छ ।
यसैबीच सत्तारुढ दल माओवादी केन्द्रका नेता अग्नि सापकोटाले प्रधानमन्त्री दाहाल मन्त्रीमण्डल पुनर्गठन गरी सरकारी कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएका छन्।
पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले मंगलबार संवाददाताहरुसँग प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पुनःगठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताए। गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको उनले बताए।
‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दैछु भन्ने छ। गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ। तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा पुनर्गठन गरेर सरकारको कामलाई प्रभावकारी बनाउनुपर्छभन्ने छ,’ सापकोटाले भने।
तेस्रो पटक प्रधानमन्त्री हुँदा पहिलो पटक एकवर्ष पूरा गरेका दाहाल यो कार्यकालको दोस्रो वर्ष सुरु गर्दैगर्दा केही नयाँ अध्याय थाल्ने तयारीमा रहेको उनको सचिवालय सूत्रले बताएको छ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल पुस १०, २०७९ आइतबार प्रधानमन्त्री चुनिएका थिए।तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिपल्ट सोमबार साँझ दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन ।
२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो। दाहाल २०६५ साउनमा पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। त्यति बेला उनी काठमाडौं–१० र रोल्पा–२ बाट संविधानसभामा निर्वाचित भएका थिए।
संविधान नबनेपछि २०७० सालमा फेरि संविधानसभाको निर्वाचन भएको थियो। त्यसमा उनी सिरहा–५ बाट निर्वाचित भएका थिए। त्यसपछि उनी २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा ३६३ सदस्यको बहुमत पाएर दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रतिक्रिया