मेलबर्न अष्ट्रेलिया ।
प्रवासी नेपाली मञ्च अष्ट्रेलिया अन्तर्गतका तिनबटा राज्य समितिहरुको आयोजनामा अष्ट्रेलियाका तिन राज्यहरुमा नेपाली टोपी दिवस भव्य रूपमा मनाइएको छ। मञ्चको आयोजनामा एडिलेड, क्यानबेरा र पर्थमा सोमबार नेपालीवासी जम्मा भएर टोपी दिवस भव्य मनाइएका हुन्।
साउथ अष्ट्रेलियामा मञ्चले १०१८ सालदेखि टोपी दिवस मनाउँदै आएको थियो। यसपालि साउथ अष्ट्रेलियामा पदयात्रासहित टोपी दिवस मनाइएको प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका प्रचार विभाग प्रमुख अशिम कोइरालाले जानकारी दिए। समर्टन विचबाट सुरु भएको पदयात्रा ग्लेनेल विचमा पुगेर पुन समर्टन विचमा पुगेर समापन भएको उनले बताए। गैरनेपालीको घुइँचो हुने यस क्षेत्रमा गरिएको उक्त पदयात्राले नेपालको पर्यटन क्षेत्रमा पनि सहयोग पुग्ने प्रचार विभाग प्रमुख कोइरालाले केबीसीलाई जानकारी दिए। पदयात्रामा साउथ अष्ट्रेलियावासी पाँच सय बढी नेपालीहरूको सहभागिता रहेको उनको भनाइ छ।
पुन समर्टन विचमा पुगेपछि पदयात्रा सभामा परिणत भएको थियो। उक्त सभामा साउथ अष्ट्रेलियाका महावाणिज्यदूत दिपक धमला, स्थानीय काउन्सिलर रेणुका लामा, साउथ अष्ट्रेलियन बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाका संयोजक सञ्जय पुरीलगायतले धारणा राखेका थिए। कार्यक्रममा बोल्ने वक्ताले नेपालीको पहिचान समेत रहेको टोपीको प्रचार प्रसार गर्दै विदेशी भूमिमा पनि यसको संरक्षण गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूले अष्ट्रेलियामा हुर्किँदै गरेको पछिल्लो पुस्तालाई टिपी दिवसको महत्वको बारेमा जानकारी गराउनु पर्नेमा जोड दिए।
प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलियाका अध्यक्ष युवराज पहाडीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन ओसियानाका पूर्व संयोजक अशोक केसीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको समापन गर्दै अध्यक्ष पहाडीले कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न पदयात्रामा सहभागी हुने साउथ अष्ट्रेलियावासी नेपालीलाई धन्यवाद दिएका थिए। उनले यसरी नै नेपाली कला संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा राखे। उनले पासपोर्ट लगायतका समस्याका बारेमा पनि धारणा राखेका थिए।
मञ्जकै आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा पनि टोपी दिवस मनाइएको छ। प्रवासी नेपाली मञ्च क्यानबेराले आयोजना गरेको टोपी दिवस तथा बारबीक्युमा दुई सयबढी यहाँका नेपालीहरूले सहभागिता जनाएको प्रचार विभाग प्रमुख कोइरालाले जानकारी दिए। कार्यक्रमलाई प्रवासी नेपाली मञ्च अष्ट्रेलिया सदस्य तथा कार्यक्रम संयोजक किशोर भण्डारी, राज्यका अध्यक्ष अभिषेक उप्रेती लगायतका वक्ताले नेपाली राष्ट्रिय पोषक टोपीको महत्वका बारेमा प्रकाश पारेका थिए।
यस्तै अष्ट्रेलियाको पर्थमा पनि नेपाली टोपी दिवस मनाइएको छ। एनआरएनए अन्तराष्ट्रिय समवन्य समितिका सल्लाहकार भैरव ढकाल, स्थानिय काउन्सिलर शानाभास पिटर, एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्ष कृष्ण मान श्रेष्ठ, ओएनएफ ओशियाना सदस्य मधु पन्थी, ओएनएफ अष्ट्रेलियाका उपसचिव होम नाथ निरौला, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष शेखर घिमिरेलगायतले सम्वोधन गरेका थिए।
प्रवासी नेपाली मञ्च पश्चिम अष्ट्रेलियाका अध्यक्ष तेजेन्द्र विक्रम मल्लको सभापतित्वमा भएको कार्यक्रम मञ्चका सचिव गोपाल घिमिरेले संचालन गरेका थिए। बारबीक्युसहितको उक्त कार्यक्रममा यहाँका नेपालीहरूको उलेख्य मात्रामा उपस्थिति रहेको थियो।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए। पछि सामाजिक सञ्जालमा यसको चर्चासँगै दिवसका रूपमा स्थापित भएको छ।
जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुसी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ। नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन्।
प्रतिक्रिया