वीरेन्द्रनगरमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

वीरेन्द्रनगरमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने


काठमाडौं, १७ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । एमसीसीको विरोधमा हिजो सोमवार आह्वान गरिएको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजो सवा ८ देखि आज मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
उहाँले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताउनुभयो । एमसीसीको विरोधमा हिजो प्रदर्शन भएका क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो । प्रजिअ रिजालले मंगलगढी चोक, यरीचोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा क्षेत्र तोकिएको जानकारी दिनुभयो । यी ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।