मेलबर्न, अष्ट्रेलिया । नेपाली समूदायमा बढ्दै गएका विभिन्न समस्याहरुलाई जनचेतना मार्फत कम गर्दै जाने लक्ष्य अनुरुप गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको युथ फोरमले टिकटक प्रतिस्र्पा गर्ने भएको छ।
जनचेतनामूलक भिडियो सामग्री निर्माण गर्नेहरुमध्येबाट उत्कृष्टलाई पुरस्कृत गर्ने र यसरी निर्माण भएका सामग्रीहरुलाई जनचेतना अभिबृद्धिमा प्रयोग गर्ने तयारी युथ फोरमले गरेको हो। एनआरएन अष्ट्रेलिया युथ फोरमका कोषाध्यक्ष असिम घिमिरेका अनुसार पछिल्लो समयमा घरेलु हिंसा, मानसिक समस्याका घटनाहरु बढ्दै गएका छन्। देशभन्दा टाढा हुँदा, परिवारसँग नजिक नहुँदाका कारणबाट विद्यार्थीहरुमा मानसिक समस्याहरु देखिने गरेका छन्।
यस्तै समुद्र नभएको देश नेपालबाट आएका विद्यार्थीहरु यहाँको समुद्र या खोलाहरुमा परेर हरेक वर्ष दुर्घटना हुने गरेका छन्। यी समस्याका बारेमा धेरैभन्दा धेरैलाई सचेत गराउने र दुर्घटना कम गर्ने उद्देश्यले हामीले यो प्रतियोगिता राखेका हौं। घिमिरेले केविसीखबरसँग भने।
टिकटक भिडियो बनाउनका लागि पनि युवाहरुलाई नै प्रोत्साहन गरिने भएको छ। यसरी आउने टिकटक भिडियोमध्येमा पहिलोलाई ३ सय डलर र दोश्रोलाई २ सय डलरको गिफ्ट भौचर प्रदान गरिने पनि जनाएको छ। यो प्रतिस्पर्धा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीमूलका व्यक्तिहरुबीच मात्र गराइनेछ।
प्रतिक्रिया