अर्थतन्त्रका सूचकहरु सुधार हुँदै गएका छन् : प्रधानमन्त्री दाहाल

अर्थतन्त्रका सूचकहरु सुधार हुँदै गएका छन् : प्रधानमन्त्री दाहाल


विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सूचकहरु बिस्तारै सुधार हुँदै गएको बताएका छन्। विराटनगरमा मोरङ व्यापार संघले आयोजना गरेको ट्रेड एक्सपोको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

अर्थतन्त्रका कतिपय सूचकहरु आशलाग्दो रुपमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले तर पनि अर्थतन्त्रमा दबाब भने कायमै रहेको बताए। ‘कतिपय कुराहरुमा सुधार आइरहेको छ’ प्रधानमन्त्री दाहालले भने, ‘तर अझै पनि अर्थतन्त्रमा पक्कै दबाब छ । यसमा अझै हामीले केही गर्न बाँकी छ।’

पछिल्लो समय नेपालमा पर्यटन आगमन बढेको उल्लेख गर्दै यो निकै सकारात्मक पक्ष भएको प्रधानमन्त्रीले बताए। अबका दिनमा नेपालमा केही छैन र केही हुँदैन भन्ने मानसिकताबाट उठेर सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे।

‘नेपालीहरु विदेशिने क्रम बढिरहेको छ । घटेको छैन। यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा गम्भीर छलफल गरी नीति निर्माणमा ध्यान दिनुपर्ने छ’ प्रधानमन्त्रीले भने। नेपालको अवस्थाप्रति धेरै नै नकारात्मक भावना हुने खाले प्रचार र निरासाजनक कुरा भइरहेको भन्दै उनले यसमा असन्तुष्टि जनाए।

उनले भने, ‘नेपाल खत्तम छ । कोही ठिक छैन । सबै नेता र पार्टी भ्रष्ट भए । नेपालमा बस्न हुँदैन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ’ उनले भने, ‘यसो गरिनु दुर्भाग्यपूर्ण हो । हामीले सकेसम्म के गर्न सकिन्छ गरिरहेका छौं।’यसैगरी, राजश्व छली र चुहावटलाई नियन्त्रण गर्नेमा पनि सरकारले आवश्यक पहलकदमी गर्ने भन्दै प्रधानमन्त्रीले उद्योगी–व्यवसायीले अघि सारेका समस्याहरु समाधान गर्न सरकार गम्भीर रहेको बताए।

प्रधानमन्त्री दाहालले विराटनगर कटहरी कार्गो रेल सञ्चालन नियमित गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी पनि दिए। कोशी प्रदेशका प्रमुख धार्मिक स्थलहरुलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सरकारले आवश्यक काम गर्ने उनको भनाइ छ।