अष्ट्रेलियाको क्वीन्सल्याण्ड वर्षातको चपेटामा, ६ जनाको मृत्यु, अझै २४ घण्टा खतरापूर्ण !

अष्ट्रेलियाको क्वीन्सल्याण्ड वर्षातको चपेटामा, ६ जनाको मृत्यु, अझै २४ घण्टा खतरापूर्ण !


ब्रिसबेन, अष्ट्रेलिया ।

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा परेको अविरल वर्षाका कारणले ६ जनाको ज्यान गएको छ भने कैयौं बेपत्ता छन् । क्वीन्सल्याण्ड दक्षिणपूर्वी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । आईतबार विहानसम्ममा ६ जनाको ज्यान गएको तथ्य सार्वजनिक भएको छ भने विवेनहोइ बाँध भरिएका कारण त्यहाँको पानीलाई सुरक्षित निकास दिने क्रम सुरु गरिएको छ । क्वीन्सल्याण्डका हजारौं घर यतिबेला पानीको चपेटामा छन् ।

ब्रिसबेन सिटी, बुलिम्बा, ह्यामिल्टन, मिल्टन, न्यूफार्म, न्यूस्टीड, नोर्मन पार्क, अक्सले, रोकेलिया, दक्षिणी ब्रिसबेन, सेन्ट लुसिया, टेनरिफि, टोउम्बा, वेष्टईन्ड, विन्डसर र यीरोंगा यतिबेला खतराको सूचिमा रहेका क्षेत्र हुन् । अझै पनि २४ घण्टासम्म पानी पर्ने मौसम पूर्वानुमान विभागले जनाएको छ ।

मृत्यु हुने ६ जनामध्ये एकजना उद्धारकर्ता भएको बताइएको छ । अहिले पनि ब्रुस हाईवेसहित अन्य प्रमुख बाटोहरु पानीले भरिएका कारण प्रयोग गर्न नसकिने अवस्थामा छन् । ईन्स्युरेन्स काउन्सिल अफ अष्ट्रेलियाले गएको तीन दिनमा मात्रै ३५ सय भन्दा बढी दावीहरु आएको भन्दै अझै यो क्रम बढ्ने जनाएको छ ।

प्रिमियर एनास्तेसिया पलासेले ग्याम्पी क्षेत्रमा सन् १८८० पछिको सबैभन्दा ठूलो बाढी आएको बताएकी छिन् भने उनले यहाँका सबै नगरका मेयरहरुसँग बैठक गर्दै एकीकृत रुपमा अघि बढ्न अपिल गरेकी छिन् ।