नेपाली सोसाइटी अफ तास्मानियाले पाठशाला बनभोज आयोजना गर्दै

नेपाली सोसाइटी अफ तास्मानियाले पाठशाला बनभोज आयोजना गर्दै


होबार्ट तास्मानिया । 

नेपाली सोसाइटी अफ तास्मानियाले पाठशाला (नेपाली भाषा स्कुल) पिकनिकको आयोजना गर्ने भएको छ। सोसाइटीले डिसेम्बर २३ तारिखका दिन वनभोज कार्यक्रमको आयोजना गर्न लागेको हो।

वनभोज कार्यक्रम रिसडन ब्रुक पार्क, रिसडन भेलमा शनिवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चल्ने छ। पिकनिकमा खेलकुद कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको सोसाइटीका अध्यक्ष संसारराज चिमोरियाले केबीसीलाई जानकारी दिए। अभिभावकहरूका लागि डोरी तान्ने खेल, म्युजिकल चियर, चम्चा दौड, स्याक्रेस र सहभागी बालबालिकालाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष चिमोरियाले जानकारी दिए।

पाठशालाको वार्षिक कार्यक्रम भए पनि यस वर्ष अष्ट्रेलियामा घुम्न आएका अभिभावकहरूलाई पनि सहभागी गराउन लागेको उनको भनाइ छ। अभिभावकको एक कोठा भित्रको गुम्साइलाई मध्यनजर गर्दै उहाँहरूको सहभागीले पिकनिक नेपाली–नेपालीबीच सुखी साटासाट गर्ने उचित माध्यम हुने उनको बुझाइ छ। नेपालको वनभोजको झल्को दिने गरी गरिने कार्यक्रममा सके जति बढी नै तास्मानियाको नेपाली समुदायलाई उपस्थित गराउने सोसाइटीको उद्देश्य रहेको उनले बताए।

प्रवेश निःशुल्क रहेको वनभोज कार्यक्रममा तास्मानियाको भाषा स्कुल पाठशालाको प्रवर्द्धनमा थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन्। उक्त अवसरमा तास्मानियामा रहेका नेपाली वासीलाई सहभागीताका लागि सोसाइटीका अध्यक्ष चिमोरियाले आग्रह पनि गरेका छन्।

तास्मानियामा हुर्किँदै गरेको पछिल्लो पुस्तालाई नेपाली भाषा कला संस्कृतिको बारेमा जानकारी गराउनले र यहाँ रहेका नेपाली बालबालिकासँग घुलमिल गराउने पाठशालाको मुख्य उद्देश्य रहेको उनले बताएका छन्।

सन २०१७ सालमा स्थापना भएको पाठशालाले तास्मानियामा रहेका हुर्किँदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा कला संस्कृतिबारे पढाउँदै आएको छ। पछिल्लो पुस्ताले सामान्य नेपाली भाषा बोल्न र लेख्न सकोस् भनेर नै पाठशालाको स्थापना गरिएको हो। नेपाली सोसाइटी अफ तास्मानिया संरक्षक रहेको पाठशालामा अहिले २५ जना नेपाली बालबालिका नेपाली भाषा सिकिरहेका छन्। हरेक आइतबार मात्र कक्षा संचालन हुने पाठशालामा एक जना नेपाली शिक्षकको नियुक्त गरिएको छ।