हामीसँग ठेकेदार र कार्यकर्ताको लिस्ट छैन, सुशासनको एजेन्डा मात्रै छ : रवि लामिछाने

हामीसँग ठेकेदार र कार्यकर्ताको लिस्ट छैन, सुशासनको एजेन्डा मात्रै छ : रवि लामिछाने


मंसिर ३०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलहरुले मदन भण्डारी र वीपी कोइरालाको विचारलाई बेचिरहेको आरोप लगाएका छन्। पार्टीले शनिबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनलेभजाएर खान आफूहरूसँग कसैका विचारको भारी नभइ सुशासनका एजेन्डामात्र भएको बताए।

उनले भने ,‘हामीसँग ठेकेदारहरुको र कार्यकर्ताको लिस्ट छैन। बेच्नका लागि हामीसँग मदनवीपी कोही छैनन्। हामीसँग सुशासनको एउटा एजेन्डा छ। हृदय छ केही गरेर देखाउने र क्षमतावान योग्यता भएका व्यक्तित्वहरू हाम्रो पार्टीमा छन् बस्। यत्तिकै आधारमा हामी अगाडि बढेका हौं।’

जाजरकोटलाई केन्द्रविन्दु बनाइ हालै आएको भूकम्पलगत्तै लामिछाने त्यसतर्फ हतार हतार पुगेका थिए। उनले आफू गएको देखेर सत्ताधारी दलका नेताहरु राज्यलाई खर्चको भार बोकाएर देखाउनका लागि जाजरकोट गएको टिप्पणी गरे।

भूकम्पस्थलमा कम्युनिष्टहरु रास्वपासँग प्रतिष्पर्धाका लागि हेलिकोप्टर प्रदर्शन गर्न मात्र पुगेको उनको आरोप थियो। आफूहरुसँग प्रतिस्पर्धा गर्न होइन जनताको घाउमा मलम लगाउन जान उनले आग्रह गरे।

‘आज देशको दुर्गम ठाउँमा भूकम्प जान्छ। हामी सबैभन्दा पहिला पुग्छौं भनेर अब यिनीहरु पुग्लान भनेर एकाबिहानै झिसमिसेमा आँखा मिच्दै हेलिकोप्टर चढेर पुग्छन्। डर छ पहिला यो पुग्यो भने बर्बाद हुन्छ भनेर,’ उनले भने, ‘पुग्नुहोस् तर हेलिकोप्टर प्रदर्शन गर्न होइन, जनताको घाउमा मलम पट्टी लगाउन जानुहोस्। हेलिकोप्टरले कति पैसा खर्च भयो थाहा छैन। जाडोले मानिस मरे, हामीसँग प्रतिस्पर्धा गर्न देखाउन नजानुहोस्।’

सभापति लामिछानेले विश्वविद्यालयमा तालाबन्दी गरेर देशको भलो नहुने भन्दै भागबण्डामा पदहरु बाँडेको कारण देशमा लुटतन्त्रको धन्दा बढेको टिप्पणी गरे। एकपटक आफूलाई अवसर मिलेमा लुटको खेतीमा हिडेकाहरुलाई रोक्ने जिकिर उनले गरे।

‘विश्वविद्यालयका भीसीपदको पार्टीमा योगदान दिने मानिसलाई बाँड्नेहरुले कहिले पनि देशको भलो गर्न सक्दैनन्। संघसस्थाहरु डुबेका छन्। तिनको हालत टाट पल्टिने छ। त्यो सब भागबण्डामा देशको पदहरु बाँडेको कारण हो,’ उनले भने, ‘एकपटक लुटलाई बन्द गर्ने अवसर हामीलाई दिनुहोस्। यो लुटको खेती धन्दा देशको सम्पत्ति आफ्ना भाइभान्जा सालाभतिजा जिन्दाबाद भन्दै हिडेकाहरुलाई रोक्ने अवसर खोजेको छौं।’