मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन छ : महासचिव पोखरेल

मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन छ : महासचिव पोखरेल


काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको दाबी गरेका छन्। बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रामा रहेको एमालेका महासचिव पोखरेलले मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन प्राप्त भएको बताए।

बिहीबार विहान भोजपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लोकमार्गको पूर्वपश्चिम यात्राका क्रममा मध्यपहाडको समस्या, सम्भावना र अवसरहरूलाई नजिकबाट नियाल्ने काम भएको बताए।

एमालेको संकल्प यात्राले जनतामा फैलिएको निराशालाई आशामा बदल्न सहयोग पुगेको भन्दै उनले यात्राले समाजमा फैलिएको नकारात्मक मनोविज्ञानलाई चिर्न र गलत प्रवृत्तिलाई पाखा लगाउन समेत सहयोग पुर्याएको दाबी गरे।

उनले मध्यपहाडमा आर्थिक विकास र संमृद्धिको ठूलो सम्भावना कायम रहेको बताए। मध्यपहाडमा पूर्वाधारको विकास र बसाईसराईंको प्रवृत्ति जसरी बढ्दो छ, यसलाई कसरी रोक्न सकिन्छ भनेर बुझ्न चाहेका थियौँ,’ पोखरेलले भने, ‘यति यात्रा गरिसकेपछि हामी मध्यपहाडी लोकमार्ग भविष्यमा नेपालको संमृद्धिको आधार बन्नसक्छ भन्ने निष्कर्षमा पुगेका छौं। मध्यपहाडमा अझैपनि सम्भावना टरिसकेको छैन।’

उनले मध्यपहाडको जीवनस्तर उकास्न फलफुल खेतीलाई आधार बनाउन सकिने बताए। ‘मध्यपहाडमा जनताले सुन्तलाबाट स्वागत गरे, हिमालसँग जोडिएका जिल्लामा स्वाउले स्वागत गरे, पहाडी क्षेत्रको विकास र आर्थिक संमृद्धिकालागि फलफुल खेतीलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने आधारहरू देखिएको छ,’ उनले भने।

महासचिव पोखरेलले यात्राका क्रममा जनताले स्थानीय परिकार, पहिचान र संस्कतिले स्वागत गरेको भन्दै त्यसको पहिचान र प्रचारकालागि समेत सहयोग पुगेको बताए।

१३ मंसिरमा झुलाघाटबाट सुरू भएको एमालेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिदैछ।