काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी र देश ठिक तरिकाले नचले पनि आफ्नो समूह ठिक तरिकाले चलिरहेको बताएका छन्। बुधबार अनुपम फुडल्यान्डमा बसेको उनको समूहको बैठकपछि सञ्चारकर्मीसँग उनले भने,‘नेपाली कांग्रेसको एउटा समूहले छलफल गर्दा ठूलो बनाउनु आवश्यक छैन। कांग्रेस र देश ठिक तरिकाले चलेको छैन, हाम्रो समूह ठिक छ।’
समसामयिक विषयमा भेला र छलफलका लागि आफ्नो समूह बैठक बेला बेलामा बस्ने गरेकाले सञ्चारकर्मीले त्यसलाई ठूलो विवादको विषय बनाउन नहुने उनले बताए। उनको बैठकमा पार्टीका महामन्त्री गगन थापा पनि सहभागी भए। धेरैपछि थापा पुनः कोइरालाको भेलामा सहभागी भएको विषयमा सञ्चारकर्मीले सोधेका थिए । डा. कोइरालाले आफ्नो र महामन्त्री थापाका एजेन्डामा मतमान्तर नभएको प्रष्टीकरण दिए।
उनले भने,‘पहिले पनि थिएन फरक एजेण्डामा, अहिले पनि छैन। एजेन्डामा कुनै पनि फरक मत छैन। हाम्रो त्यही कारण आज हामी जुटेका हौं। एजेन्डामा महामन्त्रीजी र मेरो बीचमा कुनै एक इन्च पनि फरक छैन। उहाँको उमेर र मेरो उमेर फरक छ। उहाँको सोचाइ र मेरो सोचाइ फरक छ, त्यसले मात्रै हो। एजेण्डा हाम्रो कुनै फरक छैन।’
प्रतिक्रिया