नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउन पर्छ : प्रधानमन्त्री दाहाल

नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउन पर्छ : प्रधानमन्त्री दाहाल


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर अन्तर्राष्ट्रियकरण गरी नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्।

बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले काठमाडौं विश्वविद्यालयले चलाइरहेका बहुविधागत कार्यक्रमहरूले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेको उल्लेख गरे।

उनले काठमाडौं विश्वविद्यालयले नेपालको मौलिक ज्ञान सीपलाई विश्व बजारसँग जोडेर नेपाली शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न गरिरहेको प्रयासको प्रशंसा गर्दै नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय छ। काठमाडौं विश्वविद्यालयले जसरी आफ्नै तवरले त्यस प्रक्रियाको नेतृत्व लिइरहेको छ, त्यसमा सहयोग गर्न सरकार सदैव तत्पर छ।’

उनले काठमाडौं विश्वविद्यालय नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण बनेको भन्दै त्यसलाई थप सुदृढ र विस्तार गर्न राष्ट्रिय अभियानका रूपमा लैजान आवश्यक भएको बताए।

‘आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु। यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण हो। अब यो क्रमलाई राष्ट्रिय अभियानका रूपमा थप सुदृढ र विस्तारित बनाउनु आवश्यक छ’, प्रधानमन्त्री दाहालले भने।

उनले नेपाली विद्यार्थी विदेशिने क्रम निकै बढेको र उनीहरुमा निराशा छाएकोप्रति चिन्ता प्रकट गरे। विश्वविद्यालयमा आर्जन गरेको ज्ञान र सीपलाई देश र मानव जातिको हितका लागि उपयोग गर्न अनुरोध गर्दै युवालाई स्वदेशमै रोजगारीको अवसर रहेको जिकिर गरे।

‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्। म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ’ दाहालले भनेका छन्।