सगरमाथा आरोहण गरेका ३७ अष्ट्रेलियन एकै ठाउँमा, दूतावासले गर्यो सम्मान

सगरमाथा आरोहण गरेका ३७ अष्ट्रेलियन एकै ठाउँमा, दूतावासले गर्यो सम्मान


मेलबर्न अष्ट्रेलिया । क्याबेरामा नेपाली राजदूतावासले अष्ट्रेलियाका सगरमाथा आरोहीलाई अभिनन्दन गरेको छ। नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अस्ट्रेलियन हिमालयन फाउन्डेसनसँगको सहकार्यमा अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा दूतावासले उनीहरूलाई अभिनन्दन गरेको हो। 

दुतावासले गरेको ‘माउन्ट एभरेष्ट समिटर्स’ अभिनन्दन कार्यक्रममा अष्ट्रेलियाका सगरमाथा आरोही, अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका सहायक सचिव, अष्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रतिनिधि, र रिच फर नेपाल, अष्ट्रेलियाली सञ्चारमाध्यम तथा नेपाली समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। 

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले विशिष्ट अतिथिहरूलाई स्वागत गरेका थिए। उनले हिमालय र हिमालसहित नेपालका पर्यटकीय गन्तव्यहरूको बारेमा प्रकाश पारेका थिए। नेपालमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको वीरतापूर्ण उपलब्धिको प्रशंसा गर्दै राजदूत पोखरेलले अष्ट्रेलियामा नेपालका पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्नुका साथै विभिन्न परोपकारी तथा गैरनाफामूलक संस्थाहरूमार्फत नेपालीहरूका लागि सहयोगको हात पुर्याएकोमा धन्यवाद दिएका थिए। 

कार्यक्रममा बोल्दै पहिलो अष्ट्रेलियाली सगरमाथा आरोही ग्रेग मोर्टिमरले सगरमाथा आरोहण गर्दाको अनुभव सेयर गरेका थिए। उनले सबै पर्वतारोहीलाई एकै ठाउँमा भेला गर्ने अवसर प्रदान गर्ने यस्तो कार्यक्रम आयोजना गरेकोमा दूतावासलाई धन्यवाद दिए।

पाँच पटक सगरमाथा आरोहण गरेका लाक्पा शेर्पाले पनि कार्यक्रमको प्रशंसा गर्दै नेपाली आरोहीले बनाएको कीर्तिमानबारे चर्चा गरेका थिए। कार्यक्रममा अष्ट्रेलियन हिमालयन फाउन्डेसनका सीईओ एन्ड्रयु जज, सबैभन्दा कान्छो अष्ट्रेलियाली सगरमाथा आरोही गेब्रियल कानिजे र जर्ज हिलारी (सर एडमन्ड हिलारीका नाति) ले कार्यक्रममा नेपालको सुन्दर हिमालयको प्रशंसा गर्नुका साथै नेपाली दूतावासलाई धन्यवाद दिएका थिए। 

३७ अष्ट्रेलियाली सगरमाथा आरोहीलाई लेटर अफ रिकग्निसन, नेपाली खाडा र नेपालको झण्डासहित सम्मान गरिएको छ। अष्ट्रेलियाका प्रख्यात एमसी एन्टोन पेमेर कार्यक्रमको सञ्चालक थिए।