देउवा–ओली आआफ्नै अडानमा, बालकोट बैठक निष्कर्षविहीन

देउवा–ओली आआफ्नै अडानमा, बालकोट बैठक निष्कर्षविहीन


काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस र एमालेका नेताहरूबीच बालकोटमा आज भएको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए ।
एमालेका नेताहरूले भने १४ जना ’गैर सांसद्’ लाई कारबाही गर्ने वा सभामुखको राजीनामा मागको अडान दोहो¥याएका थिए । यद्यपि अब छिट्टै अर्को बैठक बस्ने सहमति भएको बताइएको छ ।
प्रधानमन्त्री देउवाले भने पहिले एमसीसीलाई अनुमोदन गर्ने र त्यसपछि अन्य विषयमा छलफल गरेर अगाडि बढ्ने प्रस्ताव एमाले नेताहरूलाई गरेका थिए । ’पहिले एमसीसीलाई अनुमोदन गरौँ त्यसपछि सबै विषयमा छलफल गरेर अगाडि बढौँला,’ प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले भने ।
कांग्रेसको तर्फबाट देउवासहित सञ्चारमन्त्री कार्की, कांग्रेस महामन्त्री गगन थापा र पूर्णबहादुर खड्का बैठकमा सहभागी थिए । एमालेको तर्फबाट भने अध्यक्ष केपी ओलीसहित महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए ।
शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष ओलीको निजी निवासमा देउवासहित कांग्रेसका नेताहरू पुगेका थिए । त्यसअघि देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा भेट गरेका थिए । एमसीसी अनुमोदन गर्नेबारे संसद्मा दलहरूबीच मतभेद कायमै रहँदा संसद्का दुई ठूला दलहरूबीच छलफल भएको हो ।