नक्कली भुटानी शरणार्थी प्रकरणः खाण र रायमाझी थुनामै रहने

नक्कली भुटानी शरणार्थी प्रकरणः खाण र रायमाझी थुनामै रहने


काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै रहने आदेश दिएको छ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि हाललाई उनीहरु थुनामै रहने भएको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिएका हुन्।

अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको रायअनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने उनले जानकारी दिए। उनका अनुसार पूर्वगृहमन्त्री खाणलाई २० लाख धरौटीमा छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ।

अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठिक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्ने छ। यस्तै, टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।