नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने


काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूले दायर गरेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा पुनरावलोकन निवेदनमाथि बिहीबार सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो।

अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने सम्भावना रहेको जानकारी दिए। मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार प्रतिवादीतर्फका कानून व्यवसायीले जवाफी बहस गरेपछि सकिएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलिरहेको छ। जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाडेको थियो। थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध पुनरावेदन दिएका हुन्। उनीहरूले आफूहरूलाई थुनामुक्त गर्न माग गरेका छन्।

त्यस्तै धरौटीमा छाडिएकामध्ये दुईजनाविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन निवेदन दिएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।