राष्ट्रियसभाका अध्यक्ष अष्ट्रेलियामा, संघीयसहित तीन राज्यको संसदमा अवलोकन

राष्ट्रियसभाका अध्यक्ष अष्ट्रेलियामा, संघीयसहित तीन राज्यको संसदमा अवलोकन


सिड्नी, अष्ट्रेलिया ।

नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहितको १२ सदस्यीय टोली अष्ट्रेलियाको भ्रमणमा आइपुगेको छ । सोमबार साँझ सिड्नी उत्रिएको टोलीलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका उपाध्यक्ष राम घिमिरे, अष्ट्रेलियाका पूर्वउपाध्यक्ष देव गुरुंगलगायत समूदायका अगुवाहरुले स्वागत गरेका थिए ।

तिमल्सिनाले आज मंगलबार न्यूसाउथवेल्स राज्यको संसद भवनमा त्यहाँका सभामुख ग्रेग पिपरसँग भेट गरेका छन् भने संसदको चालु अधिवेशनको अवलोकन गरेका थिए । यस्तै भ्रमण टोलीको सम्मानमा सिड्नी विश्वविद्यालयका प्राध्यापक एनी टोमी र न्यूसाउथवेल्सका पूर्वमहावाणिज्यदूत दिपक खड्काले आयोजना गरेको दिवा भोजमा उनीहरु सहभागी हुँदैछन् । यससँगै आज नै उनले राज्यपरिषद् का अध्यक्ष बेन फ्र्यांकलिनसँग पनि शिष्टाचार भेट गर्नेछन् ।

आज साँझ प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा अध्यक्ष तिमल्सिनालाई स्वागत तथा समूदायसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ । साँझ ६ बजे मेरिल्याण्ड्समा आयोजना गरिएको यो कार्यक्रममा समूदायका अगुवाहरु सहभागी हुँदैछन् ।
बुधबार भ्रमण टोली क्यानबेरा जानेछ भने त्यहाँको संसदीय गतिविधि अवलोकन गर्ने कार्यक्रम छ । त्यस लगत्तै बिहीबार अध्यक्ष तिमल्सिनासहितको टोली मेलबर्न पुग्नेछ । त्यहाँ पनि बिहीबार साँझ भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले रात्रिभोजसहित नेपाली समूदायसँगको अन्तरक्रिया आयोजना गरेका छन् ।

युएनडीपीको आयोजनामा अष्ट्रेलियन संघीय संसदको यो अवलोकन भ्रमण राखिएको हो । वित्तिय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत टोली अष्ट्रेलिया आइपुगेको हो । भ्रमण टोलीमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णालीका नन्दा गुरुंग, गण्डकीका कृष्णप्रसाद धिताल, कोशीका सभामुख सिर्जना दनुवार, मधेशका उपसभामुख बबिताकुमारी राउत, बागमतिका उपसभामुख अप्सरा चापागाई खत्री र लुम्बिनीका उपसभामुख मेनुका खाँड केसी सहभागी छन् । युएनडीपीका प्रतिनिधि र अध्यक्ष तिमल्सिनाका सहयोगी गरी १४ सदस्यीय टोली बनेको छ ।

नेपाली राष्ट्रिय सभाका अध्यक्षसहित सातै राज्यका सभामुख र उपसभामुखसहितकोको औपचारिक अष्ट्रेलिया भ्रमण पहिलो पटक भएको हो । यसअघि अष्ट्रेलियाका सभामुख नेपाल भ्रमणमा गएका थिए ।