पाकिस्तानलाई च्याम्पियन्स ट्रफीको चिन्ता

पाकिस्तानलाई च्याम्पियन्स ट्रफीको चिन्ता


एजेन्सी ।

भारत र पाकिस्तानको राजनीतिक सम्बन्ध राम्रो छैन। राजनीतिक सम्बन्ध खराब हुँदा यसको प्रत्यक्ष असर क्रिकेटमा पनि पर्दै आएको छ। जसका कारण भारतले पाकिस्तानको भ्रमण गरेको छैन भने पाकिस्तानले भारतको भ्रमण भने आइसीसीका इभेन्टमा गर्दै आएको छ।

पछिल्लो एसिया कप क्रिकेट पाकिस्तानमा आयोजना गरिए पनि भारतले पाकिस्तानको भ्रमण नगर्दा सहभागी टिमले पाकिस्तान र श्रीलंकामा गएर खेलेका थिए। जसका कारण पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपालले पनि घरेलु टोली पाकिस्तानसँग लाहोर र भारतसँगको खेल श्रीलंकाको क्यानडीमा गएर खेलेको थियो।

भारतमा हालै सम्पन्न विश्वकप क्रिकेट हुँदा पाकिस्तानी टिमले कुनै सर्त नराखेर खेलकुदमा राजनीति नजोड्न आग्रह गर्दै सहभागिता जनायो। पाकिस्तानी टिमले समूह चरण पार गर्न भने सकेन। अब २०२५ मा च्याम्पियन्स ट्रफीको आयोजना हुने छ। ४ वर्षमा विश्वकप हुने भएकाले बीचको २ वर्षमा आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि ८ टिमको छनोट पनि भइसकेको छ।

च्याम्यिन्स ट्रफी आउन धेरै समय बाँकी भए पनि पाकिस्तानी क्रिकेट बोर्ड अहिलेबाटै तनावमा रहेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन्।

पाकिस्तान क्रिकेट बोर्डले आईसीसीलाई च्याम्पियन्स ट्रफी २०२५ को आयोजनाको अधिकारको सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेको छ। राजनैतिक र सुरक्षा कारण देखाउँदै भारतले त्यहाँ खेल्न अस्वीकार गरेमा आफूलाई क्षतिपूर्ति दिनुपर्नेमा पीसीबीले जोड दिएको छ।

पाकिस्तानले च्याम्पियन्स ट्रफी आयोजना गर्ने तयारी गरेको छ, तर आईसीसीले पीसीबीसँग आयोजना गर्ने महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भने भएको छैन। यस कारणले गर्दा पीसीबी अध्यक्ष जाका अशरफ र सीओओ सलमान नसीरले फेब्रुअरी–मार्च, २०२५ मा पाकिस्तानमा च्याम्पियन्स ट्रफी आयोजना गर्ने बारे छलफल गर्न अहमदाबादमा आईसीसीका प्रतिनिधिसँग छलफल गरेका थिए।

भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा टोली पठाउन अस्वीकार गर्दै आएको छ। पाकिस्तानमा श्रीलंकन क्रिकेट टोलीमाथि २००९ आक्रमण भएपछि अरु देशले त्यहाँको भ्रमण गरिसकेको अवस्थामा भारतीय क्रिकेट टोलीले भने भ्रमण गरेको छैन।