दुर्गा प्रसाईंको आन्दोलनका लागि डेढ लाख समर्थक काठमाडौं आइसकेको दाबी

दुर्गा प्रसाईंको आन्दोलनका लागि डेढ लाख समर्थक काठमाडौं आइसकेको दाबी


काठमाडौं । ‘राष्ट,« राष्ट्रियता र धर्म संस्कृति नागरिक बचाउ महाअभियान’ ले आफूहरुको विरोध कार्यक्रमका लागि काठमाडौं बाहिरबाट डेढ लाख समर्थक काठमाडौँ आइसकेको दाबी गरेको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यलले डेढ लाख मान्छे काठमाडौं आइसकेको जानकारी दिँदै न्यूनतम ७ लाख मान्छे जम्मा हुने दाबी गरे।

उनले भने, ‘मंसिर ७ गतेको आन्दोलनका लागि डेढ लाख मान्छे आइसकेको अवस्था छ। भोलि र पर्सिमा थप डेढ लाख आउँछन् । काठमाडौंमा ४–५ लाख मानिस तयारी भएर बसेको अवस्था छ।’

आन्दोलनमा न्यूनतम ६–७ लाख मान्छे जुट्ने माण्डव्यले बताए।

उनले भने, ‘भक्तपुरको सीडीओ कार्यालयबाट के जानकारी आएको छ भने भक्तपुरबाट आउने र्याली कमलविनायकमा आएर जम्मा हुने। त्यहाँबाट सानो ठिमी हुँदै पेप्सीकोला आउने। पेप्सीबाट गुहेश्वरीको बाटो भएर मित्रपार्क हुँदै बल्खुसम्म पुग्ने कार्यक्रम छ।’

त्यस्तै उनले सोही दिन कीर्तिपुर, कलंकी र गोंगबुबाट पनि जुलुसहरू आउने र मध्याह्न १२ बजे बल्खु चोकमा भेला भएर कोणसभा गरिने बताए। कोणसभालाई दुर्गा प्रसाईं लगायतले सम्बोधन गर्नेछन्।

काठमाडौं आएकाहरूलाई आफूहरुले होटल, बैंक्वेट र धर्मशालामा राख्न खोज्दा सुरक्षा निकायले अवरोध गरिरहेको उनको गुनासो छ।