टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्दै : गगन थापा

टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्दै : गगन थापा


काठमाडौं ।

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले सरकारको टिकटक बन्द गर्ने निर्णयले अभिव्यक्ति तथा व्यैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै सरकारले यो कदमलाई किन्तु परन्तु नगरी सच्याउनु पर्ने बताए।

उनले भने, ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर यसको नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्याउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’