कोप-२८ सम्मेलनमा मौसम परिवर्तनको आन्दोलनको नेता भएर जान्छौंः प्रधानमन्त्री

कोप-२८ सम्मेलनमा मौसम परिवर्तनको आन्दोलनको नेता भएर जान्छौंः प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईमा हुन लागेको जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा नेपाल मौसम परिवर्तनको आन्दोलनको नेता भएर जाने बताएका छन् ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी भएको जिकिर गरे।

जलवायु परिवर्तनले नेपालमा परेको असरबारे विश्व समुदायलाई जबर्जमस्त अपिल गरेको र त्यसको आधारमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको भ्रमण गरेको चर्चा गरे।

‘राष्ट्रसंघका महासचिवको भ्रमण मेरै निम्तोमा भयो । उहाँले के बोल्नुभएको छ तपाईं हामी सबैले सुनेका छौं।’

उनले कोप–२८ मा नेपाल माग्ने भिकारी नभएर जलवायु परिवर्तनको आन्दोलन गर्ने नेताको रुपमा त्यहाँ जाने र हक अधिकारका लागि संघर्ष गर्ने बताए ।

‘अब छिट्टै जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुँदैछ। त्यहाँ हामी अहिले माग्ने भिकारीजस्तो भएर जाँदै छैनौं, मौसम परिवर्तनको आन्दोलनको नेता भएर जाँदैछ नेपाल । र त्यहाँ हामीले आफ्नो हक अधिकार स्थापित गर्न संघर्ष गर्दैछौं।’

जलवायु परिवर्तनको असरबारे विश्वका विभिन्न फोरममा गएर आवाज उठाउने, मिटरब्याज पीडितका लागि कानून निर्माण, नागरिकताविहीन नेपालीको मागको सम्बोधन जस्ता विविध राम्रा काम आफ्नो पालामा गरेको जिकिर गरेका उनले सबै बुर्जुवाले स्वीकार्न नचाहेको गुनासो गर्दै जनताको बीचमा त्यसलाई पुर्याउने दायित्व पार्टी र आफ्नो भएको उल्लेख गरे।

उनले माओवादी विशेष रुपान्तरण अभियान निकै दूरगामी महत्वको राष्ट्र बचाउने समाजवादी आन्दोलन सृष्टि गर्ने प्रतिगमनकारी क्रान्तिका सबै दुष्साहसलाई परास्त गर्ने एउटा महान अभियानको सुरुवात भएको दाबी गरे।