अष्ट्रेलियाको भिक्टोरिया राज्यका महावाणिज्य दूत योञ्जनले गरे भूकम्प पीडितलाई १० लाख सहयोग

अष्ट्रेलियाको भिक्टोरिया राज्यका महावाणिज्य दूत योञ्जनले गरे भूकम्प पीडितलाई १० लाख सहयोग


काठमाडौँ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका प्रभावितका लागि नेपाल सरकारले संचालन गरेका उद्धार राहत तथा पुनःस्थापना गर्नका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका नेपाली अवैतानिक महावाणिज्य दूत चन्द्र योञ्जनले १० लाख सहयोग गरेका छन्। शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी उक्त रकम हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डसँगको भेटका अवसरमा अष्ट्रेलियाका लागि नेपाली पूर्वराजदूत महेश दाहाल समेत उपस्थित हुनुहुन्थ्यो । पूर्वराजदूत दाहालले समेत भूकम्पले दुखेको मनमा मल्हम लगाउन आएकोमा महावाणिज्यदूत योन्जनलाई धन्यवाद दिएका थिए ।

महावाणिज्य दूत योञ्जनले भेटका क्रममा देशलाई दुख्दा विदेशमा बस्ने नेपालीहरू मर्माहत बनेको र सबैले सहयोग गर्ने क्रम जारी रहेको बताए थिए। प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीहरूको योगदान देश विकासमा महत्त्वपूर्ण रहेको र आपत् विपतको बेलामा अझ बढी सहयोग प्रशंसा योग्य भएको बताएका थिए। महाबाणीज्य योञ्जनले गरेको सहयोग व्यक्तिगत हो। उनी अष्ट्रेलियामा स्थापित व्यवसायीका रूपमा चिनिन्छन्।

केबीसी खबरसँग कुरा गर्दै योञ्जनले भूकम्प प्रभावितको राहत र पुनः स्थापनामा थोरै भए पनि योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रधामन्त्री दाहाल नेतृत्वको सरकारले प्रभावकारी रूपमा काम गरिरहेको आफूले जानकारी पाएको बताए।

जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर १७ कात्तिकमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको हो।