एमसीसीका कारण सत्ता गठबन्धन धरापमा, भोलि निर्णायक दिन

एमसीसीका कारण सत्ता गठबन्धन धरापमा, भोलि निर्णायक दिन


काठमाडौं, ४ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन धरापमा परेको छ । एमसीसीमै अल्झेर सत्ता गठबन्धन टुट्ने कि रहिरहने भन्ने नै अनिश्चित बनेको छ । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने अडानबाट प्रधानमन्त्री शेरबहादुर देउवा ‘ब्याक’ नभएको भए सरकारबाट माओवादी केन्द्र बुधबार नै बाहिरिने थियो । देउवाको लचकताका कारण विहीबार ३ बजेसम्मका लागि सत्ता गठबन्धनको आयु लम्बिएको छ ।
संसदमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री देउवाको मंगलबारदेखिको कसरत र सहमतिविना एमसीसी टेबल भए सरकार र गठबन्धन छोड्ने माओवादी केन्द्रको अडानबीच तालमेल नमिल्दा गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिसकेको थियो । यसले एमसीसी टकराव उत्कर्षमा पुग्नुका साथै राजनीतिक तरलता झाँगिदै गएको थियो । यही तरलता र उतार–चढावका बीच बुधबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ छलफल भयो ।
दुई नेताको ‘वान टु वान’मा प्रधानमन्त्री देउवा एक कदम ‘ब्याक’ भएपछि बुधबारको संकट दुई दिनका लागि टर्न पुग्यो । तर, बिहीबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकको नतिजा नआउञ्जेलसम्म सत्ता गठबन्धनको भविष्य अझै पनि अन्योलमै छ ।
माओवादीले सरकार छोड्न सकिने निर्णय गर्दैगर्दा प्रचण्ड र देउवाबीच टेलिफोन वार्ता भएको थियो । त्यसक्रममा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अघि बढाए आफ्नो पार्टी सरकार छोड्न तयार भएको र सोहीअनुसार निर्णय नै भएको सुनाए ।
देउवा र प्रचण्डबीचको फोन सम्वादपछि देउवाले एक कदमपछि हट्दै प्रचण्डलाई बालुवाटार बोलाए । सिंहदरबारमा दलको बैठक सकेर त्यहीँबाट प्रचण्ड सिधै बालुवाटार हानिए । बालुवाटारमा देउवा र प्रचण्डबीच एक घण्टा लामो छलफल भयो ।
दुई नेताबीच भएको छलफलमा देउवा र प्रचण्ड दुबै विहीबार गठबन्धनको बैठक बोलाएर सहमतिका लागि अन्तिम प्रयास गर्न सहमत भए । सोही अनुसार बिहीबार दिउँसो ३ बजे बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक राख्ने तय गरेर प्रचण्ड बालुवाटारबाट बाहिरिए ।
बिहीबार दिउँसो तीन बजे पाँच दलीय गठबन्धनको बैठक बस्नेछ । एमसीसीका सन्दर्भमा सहमति खोज्न बोलाइएको बिहीबारको बैठकमा दलहरु विभिन्न विकल्पसहित उपस्थित हुनेछन् । जसमा सत्तारुढ तीन दलको संसदीय दलबाट भएका निर्णयकाबीच विकल्पको खोजी हुनसक्ने केही नेताहरुको भनाइ छ ।
काँग्रेसले मंगलबार पार्टी र संसदीय दलबाट एमसीसी अगाडि बढाउने निर्णय गरेको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अघि नबढाउने निर्णय लिएको अवस्था छ ।
सत्तारुढ दलभित्रकै परस्पर विरोधी निर्णयकाबीच एमसीसीबारे निकास खोज्न गठबन्धनलाई फलामको च्युरा चपाए सरह हुने निश्चित छ । यद्यपी गठबन्धन जोगाएर जाने विषयमा काँग्रेस र माओवादी–नेकपा समाजवादीबीच एमसीसी टेबल गर्ने तर पास फेलमा सांसदहरुलाई स्वतन्त्र छोड्ने विन्दुमा पुगेर सहमति हुनसक्ने एउटा विकल्प बन्न सक्छ ।
दोस्रो विकल्पमा सत्ता गठबन्धन जोगाउन र आसन्न निर्वाचनका खातिर माओवादी र एकीकृत समाजवादी पक्षमा उभिन सक्ने क्षीण सम्भावना बाँकी नै रहेको काँग्रेस नेताहरुको बुझाइ छ । तर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ त्यस्तो विकल्प नदेखेको बताउँछन् । ‘एउटा विकल्प अमेरिकाले एमसीसी सम्झौता संशोधन गर्न तयार हुनुपथ्र्यो तर उ तयार नहुने भनेपछि हामी त्यसको विरुद्धमा जान्छौ भनेपछि विकल्प नै रहने भएन’, नेता श्रेष्ठले भने,‘प्रधानमन्त्री देउवाले राष्ट्रको हितका खातिर र नेपाली समाज विभाजित भएको अवस्थाका साथै स्थानीय चुनावमा प्रवेश गरिसकेको अवस्थामा एमसीसी अघि नबढाउ भन्नुभयो भने राम्रो हुन्छ ।’
माओवादी नेता श्रेष्ठले संसद अवरुद्ध र जनता समेत विभिाजित भएको अवस्थामा बलजफ्ती गर्नु डेमोक्रेसी नै नहुने बताए । ‘यसमा माओवादी प्रष्ट छ यो वा त्यो बहानमा एमसीसी स्वीकार गर्न तयार हुन्न ।’
एमसीसी पेचिलो बन्दै जाँदा प्रधानमन्त्री देउवा एकपछि अर्को विकल्पको खोजीमा छन् । उनलाई एमसीसी पास गर्न मात्रै नभई सत्ता जोगाउनुपर्ने चुनौति पनि छ । गठबन्धनको बलमा प्रधानमन्त्री बनेका देउवाको पहिलो विकल्प प्रचण्ड माधवलाई एमसीसीको पक्षमा उभ्याउनु नै हो । तर, त्यो सम्भव नभए देउवाले दोस्रो विकल्प रोज्ने उनी निकट काँग्रेस नेताको भनाइ छ ।
ती नेताका अनुसार दोस्रो विकल्पका रुपमा एमालेसँगको सहकार्य हुनेछ । सुरुमा एमालेले बाहिरै बसेर सरकारलाई सहयोग गर्ने संकेत देखाएपनि पछिल्लो शतसहितमात्रै सहकार्य गर्ने मुड बनाएको छ । एमालेको त्यो शर्त भनेको गठबन्धन भत्किएको अवस्थामा सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने खालको काँग्रेसका एक नेताले बताएका छन् ।
तर, देउवा एमालेलाई सत्ता सुम्पने पक्षमा छैनन् । एमालेले सत्ता खोजे देउवा संसद विघटनको बाटोमा जाने सम्भावना बढी रहेको उनीनिकट नेताहरुको बुझाइ छ ।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि गठबन्धनभित्रका दलहरु संववादमा बस्दै गर्दा विकल्पसहित जानुपर्ने अवस्था आएको बताए । ‘शीर्ष तीन नेताबीच सहमति हुने र भाँडिने भइरहेको छ । यसले विश्वासको संकट गहिरिँदो छ । यस्तो अवस्थामा काँग्रेसभित्र विकल्पको खोजी भइरहेको छ’, प्रवक्ता महतको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लिने निर्णयमा नै गठबन्धनको भविस्य निर्धारण हुनेछ । देउवको पछिल्लो सक्रियता हेर्दा उनी गठबन्धनको साझा चासो भन्दा बाहिर गएर एमसीसी पारित गर्ने रणनीतिमा जुटेको देखिन्छ । तर, सत्ता घटक अरु दल अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने बरु सरकारबाटै बाहिरन तयार रहेपछि बल देउवको कोर्टमा पुगेको हो । यही पृष्ठभुमिमा बिहीबार बस्ने सत्ता गठबन्धनको बैठकले गठबन्धनको आयु समेत निर्धारण गर्नेछ ।
यदि बिहीबारको बैठकमा उनीहरुबीच एमसीसीबारे सहमति बनेको खण्डमा गठबन्धन कायमै रहने छ भने सहमति नबनी एक पक्ष अघि बढ्न खोजे बिहीबारबाटै गठबन्धन टुट्ने निश्चित छ । जसको सन्देश बुधबार बसेको माओवादी संसदीय दलको बैठकले दिइसकेको छ ।