एनएक्वीको दसैँ तिहार खसी बाजी सम्पन्न, फुटबलमा सिम्रिक र भलिबलमा गोर्खा ‘ए’ विजयी

एनएक्वीको दसैँ तिहार खसी बाजी सम्पन्न, फुटबलमा सिम्रिक र भलिबलमा गोर्खा ‘ए’ विजयी


ब्रिस्वेन, अष्ट्रेलिया ।

नेप्लिज एसोसियसन अफ क्वीन्सल्याण्ड (एनएक्वी)ले दसैँ तिहारको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ। एनएक्वीले शनिवार फुटबल, भलिबल, बालबालिकाका तथा महिलाहरूको रमाइलो खेलहरू सम्पन्न गरेको हो। 

हरेक वर्ष झैँ यस वर्ष पनि प्रतियोगिताका विजेताले खसी उपहार पाएका थिए। स्प्रिंगफील्ड सेन्ट्रल स्पोर्ट्स कम्प्लेक्समा भएको फुटबलको उपाधि सिम्रिक फुटबल क्लबले जितेको छ। फाइनलमा डाँफे फुटबल क्लबलाई पराजित गर्दै सिम्रिकले खसी बाजी जितेको हो। फुटबल प्रतियोगितामा सिम्रिक क्लब, डाँफे क्लब र नेक्स्ट जैन गरी तीन क्लबले सहभागिता जनाएका थिए। 

यस्तै एनएक्वीले भलिबल प्रतियोगिता पनि आयोजना गरेको थियो। दुई टिमले सहभागिता जनाएको भलिबलको खसी बाजी गोर्खा ए ले जितेको छ। गोर्खा बी पराजित भएको थियो। यस्तै ३५ वर्षमाथिको पुरुष फुटबल प्रतियोगिताको उपाधि साउथ फुटबल क्लबले जितेको छ। उसले पनि एक खसी पुरस्कार पाएको छ। 

विजेतालाई एनएक्वीको पुर्व अध्यक्ष मोहन शर्मा, हरी खड्का, राजन कोइराला, कमल गुरुङ, पदम राई र एनएक्वीका अध्यक्ष हेमांग शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए। कार्यक्रमको संचालन र स्वयंसेवक परिचालन संस्थाका सचिव टिकाराम शर्माले गरेका थिए। 

दशै तिहार खसी बाजी कार्यक्रमलाई एनआरएनए क्वीन्सल्याण्ड र क्वीन्सल्याण्ड नेपाली सांस्कृति केन्द्रको साथ रहेको थियो। 

अध्यक्ष शर्माले कार्यक्रम भव्य रूपमा सफल पार्न सहयोग गर्ने क्वीन्सल्याण्डका व्यवसायी, संघ–संस्थालाई एक मुष्ट धन्यवाद दिएका छन्। दीपेन्द्र राई, रामकृष्ण राई, स्वस्ति श्रेष्ठ, मेरसिंह थापा, जीत आले, सन्तोष पौडेल, देवकला श्री, अनिता अधिकारी आले, मौसमी शर्मा, जोन गौतम, स्तपदा प्रसाई र विशाल शर्माले कार्यक्रमलाई सफल पार्न खेलेको भूमिकाको प्रशंसा गरेका छन्। क्वीन्सल्याण्ड सरकारका सभामुख मिल्टन डिकले लोकल एमपी लियोनमार्फत एनएक्वीलाई उपहार पठाएको अध्यक्ष शर्माले बताए। 

एनएक्वी क्वीन्सल्याण्डको सबैभन्दा पुरानो संस्था भएकाले यसले नेपाली समाजलाई एकताबद्ध गर्न ठुलो योगदान रहेको उनले बताएका छन्। संस्थाले विभिन्न कार्यक्रम मार्फत क्वीन्सल्याण्डको नेपाली समाजलाई एकताबद्ध गर्न विगत देखि सक्रिय रहँदै आएको उनको भनाइ छ। सन २००५ मा स्थापना भएको एनएक्वीले क्वीन्सल्याण्डमा दसैँ तिहारमा सांस्कृतिक, खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको छ।