एनबीए तास्मानियाको अध्यक्षमा उमेश सुन्चेउरी निर्वाचित

एनबीए तास्मानियाको अध्यक्षमा उमेश सुन्चेउरी निर्वाचित


होबार्ट, तास्मानिया ।

नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानिया (एनबीए) को अध्यक्षमा उमेश सुन्चेउरी निर्वाचित भएको छन्। आज होबार्टको काठमाडौँ कुजीनमा भएको तेस्रो साधारण सभाले सुन्चेउरीलाई अध्यक्षमा निर्वाचित गरेको हो। 

सुन्चेउरीको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा गणेश सुवेदी, सचिवमा अरुण आचार्य, कोषाध्यक्षमा सुशन आचार्य, सदस्यमा अभिनव आचार्य र सरोज लामिछाने चयन भएका छन्। सह–सचिवको नियुक्ति भने नयाँ कार्यसमितिको पहिलो बैठकले गर्ने नवनिर्वाचित अध्यक्ष सुन्चेउरीले केबीसीलाई जानकारी दिए। 

अध्यक्षमा निर्वाचित भएपछि केबीसीसँगको कुराकानीमा सुन्चेउरीले तास्मानियामा रहेका नेपाली व्यवसायीको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले तास्मानियामा नेपाली व्यवसायीले भोग्नु परेका समस्या यहाँको स्थानीय सरकारसँग पहल गरेर समाधानका लागि पर्यत्न गर्ने बताए। एनबीएमा आबद्ध व्यवसायी व्यवसाय प्रवर्द्धन र क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न अन्तरक्रिया कार्यक्रम गरिने उनको भनाइ छ। व्यवसायमा आउन चाहनेहरूलाई एनबीए तास्मानियाले सहयोग गर्ने पनि उनले बताए। उनले एनबीएको सांगठनिक सुधार गर्दै विगतका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। 

एनबीएले तास्मानियामा रहेर व्यवसाय गरिरहेका नेपाली भाषीहरूको हक हितको लागि खोलिएको एक गैरनाफामुलक सस्था हो। संस्थाको नयाँ कार्यसमितिको अवधि २ वर्ष रहने छ।