नेपाली सोसाइटी अफ तास्मानियाले होबार्टमा नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्दै

नेपाली सोसाइटी अफ तास्मानियाले होबार्टमा नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्दै


होबार्ट, अष्ट्रेलिया ।

नेपाली सोसाइटी अफ तास्मानियाले माइग्रेन्ट रिसोर्सेस सेन्टर तास्मानियासँगको सहकार्यमा होबार्टमा नेपाली खाना, संस्कृतिको प्रवर्द्धन गर्न एउटा नयाँ कार्यक्रमको आयोजना गर्न भएको छ। सोसाइटीले नोभेम्बर महिनाको प्रत्येक आइतबार मध्यांन्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म कुलिज होटल मुनाहमा फण्डरेइजिङ इभेन्टको आयोजना गर्न लागेको हो।  

सोसाइटीको कम्युनिटी फण्डरेजिङ कार्यक्रमका लागि कुलिज होटलले भेन्यु र किचन उपलब्ध गराएको छ। उक्त कार्यक्रम नोभेम्बर महिनाको प्रत्येक आइतबार मध्यान्न १२ बजेदेखि साँझ ४ बजेसम्म संचालन गरिने सोसाइटीका अध्यक्ष संसारराज चिमोरियाले केबीसीलाई जानकारी दिए। आर्थिक संकलनको मुख्य उद्देश्यका साथ सोसाइटीले संचालन गरिएको भान्सामा नेपाली खाना खाएपछि पुल टेलब र टेबल टेनिस बोर्डको मज्जा लिन सकिने अध्यक्ष चिमोरियाले बताए। 

प्रत्येक दिन आगन्तुकका लागि अलग अलग नेपाली खानाको मिन्यु तयार पारिएको उनले बताए। उनले खाना पकाउने देखि सर्विस सम्मका काम सोसाइटीका सदस्यले गर्ने बताएका छन्। नेपाली खाना बिक्री गरे वापत संकलन भएको पैसाले सोसाइटीको वार्षिक क्यलेण्डरमा भएका कार्यक्रममा खर्च गरिने उनको भनाइ छ। उनले यी कार्यक्रम गर्दा बाँकी रहेको पैसा सोसाइटीले अत्यावश्यक भएको बेला खर्च गर्ने योजना रहेको बताए। 

कार्यक्रममा आफ्नो ट्यालेन्ट देखाउन चाहनेका लागि ओपन माइकको पनि व्यवस्था गरिएको जानकारी दिए। उनले नोभेम्बर १२ तारिख लक्ष्मी पूजाको दिन देउसी भैलो कार्यक्रमको आयोजना गर्ने बताएका छन्। तास्मानियाको तेस्रो ठुलो समुदाय भएकाले नेपाली खाना, कला संस्कृति र नेपाली समुदायको प्रवर्द्धन हुने अध्यक्ष चिमोरियाको भनाइ छ। 

सोसाइटीले आर्थिक संकलनका लागि आयोजना गरेको उक्त कार्यक्रममा सहभागी भएर सहयोग गरिदिन तास्मानियावासी नेपालीहरूलाई अध्यक्ष चिमोरियाले आग्रह गरेका छन्।

नेपाली सोसाइटी अफ तास्मानियाले विदेशी भुमीमा रहेर पनि नेपाली भाषा, कला संस्कृतिको जगेर्ना गर्दै आएको छ। सोसाइटीले संगीत सम्बाद रेडियो कार्यक्रम र नेपाली पाठशालाको माध्यमाबाट हुर्किँदै गरेको पछिल्लो नेपाली पुस्तालाई नेपाली भाषा, कला संस्कृतिमा जोड्न काम गर्दै आएको छ।