युरेनियम जस्तै देखिने पदार्थसहित ८ पक्राउ

युरेनियम जस्तै देखिने पदार्थसहित ८ पक्राउ


काठमाडौं, ३ फागुन । ‘रेडियोधर्मी पदार्थ’ पदार्थसहित प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार साँझ काठमाडौं ह्यात रिजेन्सी होटलको पार्किङ्गबाट युरेनियमजस्तै देखिने ‘रेडियोधर्मी पदार्थ’ को संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुलाई २ केजी ८ सय ग्राम ‘रेडियोधर्मी पदार्थ’ पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घरभई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घरभई काठमाडौं महानगर–६ महांकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुर महानगर–१४ का ६० वर्षीय नवराज महत, सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ घरभई ठमेल बस्ने ४० वर्षीय गोपीलाल दास, वरियापारपट्टी गाउँपालिका–१ घरभई ठमेल बस्ने ५५ वर्षीय जिवछनारायण यादव, महोत्तरी घरभई गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, भारत विहार प्रदेश गया चनादहोता घरका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा ६ बगैया कलुवाका ४४ वर्षीय राजु ठाकुर छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालबाट सादा पोसाकमा परिचालित प्रहरीको सूचनाको आधारमा वृत्त बौद्धको टोलीले काठमाडौं महानगर–६ बौद्धस्थित ह्यात रिजेन्सी होटलको पार्किङबाट बा ५ च ८२०९ नम्बरको कारमा २ केजी ८ सय ग्राम शंकास्पद ‘रेडियोधर्मी पदार्थ’ बरामद गरेको हो ।
उक्त कारमा भूपेन्द्रबहादुर खड्का र नवराज महत फेला पारेको र सोधबुझ गर्दा उक्त पदार्थ भारतबाट ल्याई प्रतिकेजी ३५ करोड रुपैयाँमा बिक्री गर्न लागेको पाइएको छ । प्रहरीले बा ५ च ८२०९ नम्बरको निजी कार, बा २६ प १६२८ नम्बरको मोटरसाइकल, भूपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्यूरिटीको परिचयपत्र र मोबाइल ९ थान बरामद गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
प्रहरीका अनुसार युरेनियम भनिएको पदार्थ बिक्रीकै लागि भारतीय नागरिक उपेन्द्रकुमार मिश्र र राजु ठाकुर काठमाडौं आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका ८ जनाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट ‘रेडियोधर्मी पदार्थ’ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत मुद्दामा ७ दिन म्याद थपको अनुमति लिई वृत्त बौद्धले अनुसन्धान थालेको एसपी मैनालीले बताए ।