काठमाडौँ ।
बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएन) को केन्द्रीय कार्यालमा भएको घटनामा अध्यक्ष बद्री केसीले प्रहरीमा उजुरी दिएका छन्। हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी पक्ष र प्रत्यासी आरके शर्मा पक्षबीच मंगलबार एनआरएनको केन्द्रीय कार्यालयमा कुटाकुट भएको थियो।
दरबारमार्गमा दिएको जाहेरीमा एनआरएनएको कार्यालयभित्र अनधिकृत हस्तक्षेप गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न उनले माग गरेको छ।
नवनिर्वाचित संघका पदाधिकारीहरूलाई पूर्वमन्त्री महेश बस्नेतले बधाई दिइरहेको बेलामा पराजित समूहका केही व्यक्तिहरू प्रवेश गरी होहल्ला र अवरोध पुर्याएको जाहेरीमा उल्लेख छ।
आरके शर्मा, बुद्धिसागर सुबेदी, गंगाधर गौतम, यादव ढुंगना, ओम शर्मालगायत व्यक्तिहरू संघमा अनुमतिबिना कार्यालय प्रवेश गरी पूर्वमन्त्री बस्नेत र निर्वाचित अध्यक्ष डा.बद्री केसीउपर अनर्गल गाली गलौच गर्ने, अनुमतिबिना फोटो खिच्ने गरेको जाहेरीमा बताइएको छ।
विवादपश्चात् हिजै शर्मा पक्षले घटनामाथि अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न उजुरी दिइसकेको छ। केसी पक्षले गरिरहेको कार्यक्रमको फोटो र भिडियो शर्मातर्फका पत्रकार ओम शर्माले खिचेपछि विवाद सुरु भएको बताइएको छ।
आक्रमणबाट पत्रकार शर्माको ओठमा चोट लागेको छ।
प्रतिक्रिया