मेलबर्नमा नेपाली विद्यार्थीमाथि चक्कु प्रहार

मेलबर्नमा नेपाली विद्यार्थीमाथि चक्कु प्रहार


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नमा नेपाली विद्यार्थीमाथि चक्कु प्रहार भएको छ। गत हप्ता कामबाट फर्किरहेका २२ वर्षीय नेपाली विद्यार्थीमाथि मेलबर्नको सनसाइनस्थित रेल स्टेसनमा चक्कु प्रहार भएको हो। 

चक्कु प्रहारबाट ती युवकको हातमा गम्भीर चोट लागेको नेपाल ट्युवले उल्लेख गरिएको छ। सन साइन रेल स्टेसनबाट बाहिर निस्कँदै गर्दा उनी माथि पछाडिबाट एक्कासि चक्कु प्रहार भएको पीडित युवकले बताएका छन्। पछाडिबाट प्रहार भएको चक्कु बाक्लो जकेटका कारण चोट लागेन। फेरी आक्रमणकारीले पुनः अगाडी आएर आक्रमण गर्दा हातमा चोट लाग्यो उनले भने। 

गम्भीर चोट लागेको हातको शल्यक्रिया पछि युवक अहिले आराम गरिरहेका छन्। डाक्टरले एक महिना काममा नजान सुझाव दिएको उनले बताए। युवकमाथि भएको आक्रमणलाई एनआरएनए अष्ट्रेलियाले गम्भीर रूपमा लिएको महासचिव सन्तोष कुँवर बताएका छन्। उनले युवकलाई राहत स्वरुप संघले एक हजार अष्ट्रेलियन डलर सहयोग गर्ने बताए। उनले थप सहयोगका लागि एनआरएनए अष्ट्रेलियाले पहल गरिरहेको र उक्त घटनाबारे एनआरएनए भिक्टोरियालाई बुझ्न पनि भनिएको बताएका छन्। 

घटनाबारे भिक्टोरिया प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन्। पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थीमाथि आक्रमण हुने क्रम बढेको छ। गत महिना मात्र मेलबर्न एक नेपाली किशोरमाथि छुरा प्रहार गरिएको थियो।