प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने


काठमाडौं, १ फागुन । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेको छ । र यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदले पेश गरेको महअभियोग प्रस्तावलाई लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार र स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘यो कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको हामीले अनुमान गरेका छौं ।’ उनले यो कदम अनुचित भएको भन्दै त्यसलाई असफल पार्ने पनि बताए ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई विथोल्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव दर्ता भएको पोखरेलले बताए । ‘समग्रतामा भन्दा यो कदम लोकतन्त्रमाथिको प्रहारका रुपमा र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रहारका रुपमा लिएका छौं’ उनले भने, ‘‘पार्टीको तर्फबाट गम्भीर ढंगले प्रतिवाद गर्न आवश्यक छ भन्ने निष्कर्ष निकालेका छौं ।’