ब्रिस्वेन, अष्ट्रेलिया । नेपाली सांस्कृतिक केन्द्र बनाउनका लागि जग्गा खरिद गरेपछि क्विन्सल्याण्डवासी नेपालीहरूले खुसी साटासाट गरेका छन्। आज क्वीएनसीसीले ब्रिस्वेनको न्यु फार्म पार्कमा आयोजना गरेको धन्यवाद कार्यक्रममा यहाँका नेपालीहरूले एक–आपसमा लड्डु खुवाएर खुसी साटासाट गरेका हुन्।
उक्त कार्यक्रममा क्वीन्सल्याण्डवासी नेपालीहरु जम्मा भएर चिया पान समेत गरेका थिए। उपस्थित सबै जना खुसी मुन्द्रामा देखिन्थे। धन्यवाद कार्यक्रममा बोल्दै क्वीएनसीसीका अध्यक्ष डा केशव शर्माले क्वीएनसीसीको जग्गा खरिद गर्दासम्म साथ सहयोग गर्ने सबैलाई एक मुष्ट धन्यवाद दिएका थिए। उनले क्वीएनसीसी निर्माणको अभियानले महत्त्वपूर्ण खुट्किला पार गरेको भन्दै बाँकी संरचना बनाउनका लागि सहयोगको अपिल समेत गरेका छन्।
उनले तीन चरणमा हुने संरचना निर्माणका लागि नयाँ सदस्यता वितरण गरेर, दान दक्षिणा सप्ताह, नेपालबाट कलाकार बोलाएर कन्सर्ट र यहाँको केन्द्र र राज्य सरकारलाई अनुरोध गरेर आर्थिक संकलन गर्न योजना सुनाए। उनले यस अभियानलाई अपनत्व हुने गरी क्वीन्सल्याण्डवासी नेपालीहरुको दरिलो साथ सहयोगको अपेक्षा गरेको बताए। उनले क्वीएनसीसीका बारेमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्न र नगराउन आग्रह पनि गरेका छन्। उनले यस अभियानलाई सकारात्मक समाचार सम्प्रेशण गरी प्रचार–प्रसार गरेर सहयोग गर्ने मिडियाहरूलाई धन्यवाद दिएका थिए।
यस्तै इन्डियन कम्युनिटीका अगुवा उमेश चन्द्राले क्वीन्सल्याण्डमा बन्न लागेको नेपाली सांस्कृतिक केन्द्रका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नेपाली सांस्कृतिक केन्द्र बन्नु राम्रो पक्ष भएको भन्दै सबैले सहयोग गर्नु पर्ने धारणा राखे। कार्यक्रममा क्वीन्सल्याण्डमा रहेका नेपाली संघ–सस्थाहरुका पदाधिकारी, एनआरएनए क्वीन्सल्याण्डका संयोजक शम्भु गाईसी, एनएक्वीका अध्यक्ष हेमांग शर्मा र सामाजिक अगुवाहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन क्वीएनसीसीका सदस्य टिका शर्माले गरेका थिए।
प्रतिक्रिया