महासचिव गुटेरसले राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष नेतासँग आजै शिष्टाचार भेट गर्ने

महासचिव गुटेरसले राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष नेतासँग आजै शिष्टाचार भेट गर्ने


काठमाडौँ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका लागि नेपाल आएका छन्। राति एक बजे उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। गुटरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमा स्वागत गरे।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगउनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसपछि भने उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता द्वय नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संघीय संसद् भवन नयाँबानेश्वरमा छुट्टाछुट्टै भेट गर्नेछन्।

त्यस्तै उनले आजै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राजनैतिक नेतृत्वसँगको शिष्टाचार भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वकोसम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने तय छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।
गुटेरस चारदिने भ्रमणका क्रममा नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालभ्रमणमा आएका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।