जनकपुर आइपुग्यो जयनगरको रेल

जनकपुर आइपुग्यो जयनगरको रेल


काठमाडौं, १ फागुन । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा आइतबारदेखि सञ्चालनमा आएको छ।नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो।रेलमा भने तत्काल यात्रु चढ्न पाउने छैनन्।रेल सेवाको औपचारिक उद्घाटन नभएसम्म प्रत्येक दिन एक पटक ‘ड्राई रन’ सञ्चालन भइरहने छन्।
रेल सञ्चालन भएपछि धनुषावासीमा खुशीयाली छाएको छ। ट्राई रनको सफलतापछि ड्राई रन गरिनुले नियमिति सेवा सञ्चालनको सुनिश्चिता भएको भन्दै स्थानीय खुशी भएका हुन्।
ड्राई रनको लागि धनुषाको इनर्वाबाट जनकपुरधाम स्टेशन रेल आइपु्गेपछि स्थानीयले स्वागत गरेका छन्।जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले रेलको ड्राई रनले नगरवासीमा खुशीयाली छाएको उल्लेख गर्नुभयो।
‘यात्रु बोकेर नियमित सेवा सञ्चालनको प्रतिक्षामा नागरिक छन्’, उहाँले भन्नुभयो, ‘दुई हप्ताभित्रै यो प्रतिक्षा पनि पूरा हुने विश्वास छ ।’
नेपाल उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले ड्राई रनले रेल सञ्चालन हुने सपना पूरा हुने विश्वास छाएको बताउनुभयो।रेल नियमति सञ्चालनमा आएपछि यहाँको उद्योग व्यवसाय, पर्यटन व्यवसायी लगायत व्यापार व्यवसायी फस्टाउने उहाँले बताउनुभयो ।
ड्राई रनमा यात्रा गर्नुभएका आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले निराशमा आशा पलाएको बताउनुभयो।
नियमित सेवा सञ्चालनको पूर्वाभ्यासको लागि ड्राई रन सुरु गरिएको नेपाल रेल–वे कम्पनीका इन्जिनियर रविन्द्र साहले बताउनुभयो । नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले विगत १७ महिनादेखि थन्काएर राखिएका रेलको सम्पूर्ण प्राविधिक चेक जाँचको लागि ड्राई रन सुरु गरिएको बताउनुभयो ।
कुर्था–जयनगरसम्म ३४.९ किलोमिटरसम्म चल्ने रेल मार्गको व्यवस्थापनका लागि जनप्रतिनिधिसँग छलफल आवश्यक भएको महाप्रबन्धक झाको भनाइ छ । २०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट डेमो रेलमा दुई वटा इन्जिनसहित १० वटा बोगी रहेका छन् । दुबै बोगी गरी १३ सय ५० यात्रु बोक्ने क्षमता रहेको छ ।
फागुनको दोस्रो साता रेल सेवाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट गर्ने तयारी भइरहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो । उद्घाटनको मिति केही दिनमै तय हुने महाप्रबन्धक झाले बताउनुभयो ।
जनकपुर–कुर्था–जयनगरसम्म सामान्य सिटमा प्रति यात्रु ७० र एसी सिटमा ३०० भाडा निर्धारण गरिएको छ । रेल सञ्चालनको लागि नेपाली ५९ र भारतीय २६ जना कर्मचारी परिचालन गरिने उहाँको भनाइ छ । ड्राइ रनमा भारतीय कोकण रेल्वे कम्पनीका चालकसहित १४ जना प्राविधिक खटाइएको छ ।