काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादका बीच नवनिर्वाचित अध्यक्ष डा बद्री केसी र आरके शर्माबीच भेटवार्ता भएको छ।
बिहीबार दिउँसो करिब ३० मिनेट भएको भेटवार्तामा केसीले शर्मालाई मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए। शर्मासँग भेटका लागि केसी एक्लै पुगेका थिए। शर्मासँगै भने उनका चुनावी कमाण्डर समेत रहेका डीबी क्षेत्रीसँगै जाभामा पुगेका थिए।
केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि तयार भएको भेटका क्रममा बताए। उनले आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको बताइएको छ। तर, शर्माले भने आफूहरुको अडान पुनः निर्वाचन नै भएको जवाफ दिएका थिए। पुनः निर्वाचनका लागि केसी तयार भए शर्माले आफ्नो पक्षका साथीहरुसँग छलफल गर्ने बताएका थिए।
निर्वाचन प्रक्रियामा त्रुटि भएको कुरा केसीले पनि विज्ञप्तिमा स्वीकार गरिसकेको भन्दै शर्माले त्रुटिपूर्ण निर्वाचन भइसकेपछि अरु विकल्प सोच्न नसकिने अडान लिएको बताइएको छ।
एनआरएनए निर्वाचनमा डा बद्री केसी निर्वाचित भएको घोषणा गरिएपछि अध्यक्षका अन्य प्रत्यासीले धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेका थिए। पछि धाँधलीबारे छानबिन गर्ने भनिए पनि केसीले शपथ लिएपछि विपक्षी समूहले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेका थिए।
प्रतिक्रिया