तास्मानिया, अष्ट्रेलिया ।
तास्मानियाको होबार्टमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट हुने भएको छ। प्रवासी नेपाली मञ्च तास्मानिया राज्य कमिटीको आयोजनामा कवि पराजुलीको कविता कन्सर्ट २७ अक्टोबर होबार्टको मोनाहामा हुन लागेको हो।
विशुद्ध साहित्यिक जमघट रहेको कविता कन्सर्टमा प्रवेशका लागि २० अष्ट्रेलियन डलर प्रवेश शूल्क तोकिएको प्रवासी नेपाली मञ्च तास्मानियाका अध्यक्ष मुगेन गौतमले जानकारी दिए। बेलुका ५ः३० बाट सुरु हुने उक्त कार्यक्रममा नेपालबाट आएका अभिभावकका लागि भने प्रवेश निःशुल्क रहेको उनले बताए।
कविता कन्सर्टको टिकट खरिद गर्न संस्थाका अध्यक्ष मुगेन गौतम र संयोजक आकाश पौडेललाई सम्पर्क गर्न सकिनेछ। उक्त कार्यक्रमलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज तास्मानिया च्याप्टर, नेपाली सोसाइटी अफ तास्मानिया, तास्मानिया नेपलिज क्रिकेट एसोशियसन, रोटरी क्लब अफ हौराहले साथ दिएका छन्।
ग्लोबल मिट एजुकेशन एण्ड भिजा, लेण्ड एण्ड लिज रियालिटी, क्युब मोर्गेज सर्भिसेज र एपिबि पार्टनर्सले कार्यक्रमलाई प्रायोजन गरेका छन्।
अध्यक्ष गौतमले सिंगो नेपाली भाषीहरूको संस्कृति जगेर्ना गर्ने उक्त कार्यक्रमलाई भव्य र सभ्य पार्न तास्मानियाका नेपाली संघ स्थाका अगुवा, सामाजिक अभियन्ता र नेपाली भाषी लगायतलाई उपस्थितिका लागि आग्रह गरेका छन्।
२०७३ सालको पद्मश्री पुरस्कार विजेता बहुचर्चित कविता कृति ‘सगरमाथाको गहिराइ’ संग्रहको सगरमाथाको गहिराइ शिर्षक बाट पराजुलीले कविता कन्सर्टको आरम्भ गरेका थिए। पराजुलीले अष्ट्रेलियाको पर्थ, मेलबर्न, क्यानबेरा, सिड्नी, एडिलेड र बाथर्स्टमा कविता कन्सर्ट गरिसकेका छन्।
प्रतिक्रिया