तीन नेताबीच एमसीसी टेबल गर्न जुटेन सहमति

तीन नेताबीच एमसीसी टेबल गर्न जुटेन सहमति


काठमाडौं, २९ माघ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्मा पेस गर्नेबारे शनिबार पनि सहमति जुटेन । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार प्रधानमन्त्रीको सरकारी निवासमा एक घण्टा भेटवार्ता भएको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अब बस्ने बैठकमा एमसीसी सम्झौता पेस गर्ने प्रस्ताव गरेका थिए । तर, दाहाल र नेपालले यथास्थितिमा एमसीसी अघि बढाउन नसकिने अडान दोहो¥याए ।
‘प्रधानमन्त्रीज्यूले एमसीसी सम्झौता टेबल गरौँ भन्ने प्रस्ताव गर्नुभयो, तर अध्यक्षज्यूले राष्ट्रिय सहमति नजुटे वा संशोधन नगरेको अवस्थामा यथास्थितिमा यसलाई अघि बढाउन नसकिने जवाफ दिनुभयो,’ दाहालको सचिवालयले इकान्तिपुरसँग भन्यो । भेटमा दाहाल र नेपालले प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए । दाहाल र नेपालले फागुन ४ गतेका लागि बैठक सार्न आग्रह गरेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । उनले भनिन्, ’प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताबीच भएको भेटवार्ताका क्रममा दुई गते हुने भनिएको संसद् अधिवेशन प्रमुख प्रतिपक्ष दल एमाले २ गते उपस्थित हुन नसक्ने र संसद् सार्न गरेको अनुरोधको कारण अध्यक्षद्वयले फागुन ४ गते राख्न सुझाव दिनु भएको छ ।’
बालुवाटार स्रोतका अनुसार एमसीसी सम्झौता संसद्मा अघि बढाउने विभिन्न विकल्पहरूबारे छलफल भएको छ । शनिबारको भेटमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र वरिष्ठ अधिवक्ता गोविन्द बन्दीसमेत सहभागी थिए ।
एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल आफैँले दिएको समयसीमा सकिन अब १५ दिनमात्रै बाँकी छ । तर, एमसीसी सम्झौता संसद्मा छलफलका समेत पेस हुन सकेको छैन ।