कांग्रेसले भ्रातृ संगठनको विधान आइतबार पारित गर्ने

कांग्रेसले भ्रातृ संगठनको विधान आइतबार पारित गर्ने


काठमाडौं, २८ माघ । सत्तारुढ दल नेपाली काँग्रेसको बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादनको बैठकमा भातृ संगठनको विधानका विषयमा छलफल भएको छ । शुक्रबारको बैठकमा काँग्रेसको संघीय संरचना अनुरुपको भातृ संगठनको विधान काँग्रेस नेता एनपी साउदले प्रस्तुत गर्नुभएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।
‘संघीय संरचना अनुरुपको विधान प्रस्तुत भएको छ । भोलि शनिबार सबैले सो विधान पढ्नुहुनेछ र पर्सीको बैठकले विधान पारित गर्नेछ ।’, महतले भन्नुभयो । यससँगै बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा छलफल भएको छ ।
‘एमसीसीबारे पहिले जस्तै सहमति छ । यो प्रक्रिया अगाडि बढाउने कुरा हामीले नै अघि बढाएको हो । एमसीसीबारे अन्यौल राख्न नहुने दृष्टिकोण हो ।’, महत बताउनुहुन्छ । विगतमा एमसीसी सम्झौताको समयमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई लगायत सबैको संलग्नतामा मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गरेको उहाँले स्मरण गराउनुभयो । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे पुनः बस्ने जनाइएको छ ।