नेपाली सोसाइटी अफ तास्मानियाले दसैँ विशेष कार्यक्रम गर्दै, बिंगो विजेतालाई सिंगो खसी

नेपाली सोसाइटी अफ तास्मानियाले दसैँ विशेष कार्यक्रम गर्दै, बिंगो विजेतालाई सिंगो खसी


तास्मानिया, अष्ट्रेलिया । नेपाली सोसाइटी अफ तास्मानियाले दशौँको अवसरमा विशेष कार्यक्रमको अयोजना गरेको छ। सोसाइटीले अक्टोरबर २२ तारिख ग्लेनोर्कीस्थित टोलोसा पार्कमा चंगा उडाउने, बिंगो प्रतियोगिता र सांस्कृतिक प्रदर्शन लगायतका कार्यक्रम गर्न लागेको हो। 

अनट्राक तास्मानियाको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा बिंगो विजेतालाई सिंगो खसी उपाहार दिने सोसाइटीका अध्यक्ष संसारराज चिमोरियाले जानकारी दिए। उनले बिंगो प्रतियोगितामा चार वटा पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार पहिलो, दोस्रो र तेस्रो एक–एक सेट मिलाउनेलाई आधा खसी र पुरै सेट मिलाउनेलाई सिंगो खसी उपहार पाउने छन्। 

कार्यक्रममा चंगा उडाउन चाहनेले लट्टाई र बिंगो खेल्न चाहनेले भने विंगो सेट खरिद गर्नुपर्ने उनको भनाइ छ। चंगा उडाउने बालबालिकाहरुलाई भने लट्टाई सोसाइटीले फ्रिमा दिने उनले बताए। दिउँसो १२ बजे देखी सुरु हुने बेलुकी ५ बजे सम्म चल्ने कार्यक्रममा प्रवेश नि:शूल्क रहेको छ। 

यस्ता चाडपर्वले प्रवासमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने र नेपालीहरू बिचको भाइचारा र आपसी सबन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ सोसाइटीले दसैँ विशेष कार्यक्रमको आयोजना गरेको अध्यक्ष चिमोरियाले बताए। उनले यस कार्यक्रममा सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक र सहयोगी हातहरूलाई धन्यवाद दिएका छन्।