बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्म स्थगित

बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्म स्थगित


काठमाडौं, २५ माघ । प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पुनः एक साता सरेको छ । संघीय संसद सचिवालयले आज साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बुधबारको बैठक स्थगित भएको उल्लेख गरिएको छ । स्रोतका अनुसार मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी बैठक एक साता सार्न आग्रह गरेका थिए ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु एकमत नभएकाले प्रतिनिधिसभाको बैठक सारिएको स्रोतको दावी छ । नेकपा माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकले एमसीसीबारे ठोस निर्णय गरेपछि संसद बैठक बोलाउनु उपयुक्त हुने भन्दै माओवादीले बैठक सार्न लगाएको स्रोतको दावी छ ।
यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।
सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।