तास्मानिया, अष्ट्रेलिया । तास्मानियाको होबार्टमा हुन लागेको दोस्रो दसैँ सुपर सिक्स क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ। बिहीबार द चोक अस्ट्रेलिया फस्ट नेप्लिज पप होबार्टमा भएको पत्रकार सम्मेलनमा अक्टोबर ७ र ८ अर्थात भोली र पर्सी हुने दोस्रो दसैँ सुपर सिक्स क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराइएको हो।
पेम्ब्रोक ओवल, सोरेल क्रिकेट मैदानमा हुन लागेको प्रतियोगिताको उपाधिका लागि ९ टिमले प्रतिस्पर्धा गर्ने तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए)का अध्यक्ष कमल भण्डारीले जानकारी दिए। प्रतियोगितामा सहभागी टिमका प्रशिक्षक खेलाडीलाई खेलको नियमको बारेमा अध्यक्ष भण्डारीले जानकारी गराएका थिए।
अध्यक्ष भण्डारीले तास्मानियामा रहेका नेपाली संघ संस्थाको सहयोगले विगतको भन्दा दोस्रो दसैँ सुपर सिक्स क्रिकेट प्रतियोगिता पृर्थक हुने बताए। उक्त पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले टिएनसिएले वर्षभरी गर्ने कार्यक्रमहरूको बारेमा पनि जानकारी गराएका थिए।
टि–२०, जुनियर बलास्ट, महिला क्रिकेट प्रतियोगिता र असहायका लागि क्रिकेट प्रतियोगिता टिएनसिएले गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए। अध्यक्ष भण्डारीका अनुसार जुनियर बलास्ट र महिला क्रिकेट प्रतियोगिता नोभेम्बरमा, असहायका लागि क्रिकेट प्रतियोगिता डिसेम्बरमा र टि–२० क्रिकेट प्रतियोगिता मार्च २०२४ मा हुने छन्।
तास्मानियामा रहेका सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा एनआरएनए तास्मानियाका संयोजक जगदिश खड्का, नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष संसारराज चिमोरिया, नेप्लिज विजनेश एसोसियसन अफ तास्मानियाका अध्यक्ष रेवन्त बस्नेत, नेप्लिज स्पोर्टस एसोसियसन तास्मानियाका उपाध्यक्ष संजिव खड्का, एन्जाका कोषाध्यक्ष खगेन्द्र सत्याल, होबार्टमा रहेका सामाजिक अभियन्ता, क्रिकेट क्लबका अध्यक्ष र क्याप्टेनहरूको उपस्थिति रहेको थियो।
उक्त पत्रकार सम्मेलनमा बोल्दै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले क्रिकेटको माध्यामबाट टिएनसिएले तास्मानियाको बहु सांस्कृतिक समाजलाई जोड्ने प्रयासको प्रशंसा गरेका थिए। उनीहरूले भोलीदेखि हुने दोस्रो ‘दसैँ सुपर सिक्स’ क्रिकेट प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए।
ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन तास्मानियाका निर्देशक राजकिरण अधिकारीले टिएनसिएले आयोजना गरेका प्रतियोगितामा जोडिन पाउँदा खुसी लागेको बताए। उनले खेलकुदको विकासका लागि ग्रेस इन्टरनेस्नल एजुकेसनले सहकार्य गर्दै आएको जानकारी गराए।
ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन टाइटल स्पोन्सर रहेको दोस्रो ‘दसैँ सुपर सिक्स’ क्रिकेट प्रतियोगितालाई तास्मानियामा रहेका नेपाली व्यवसायीहरुले पनि सघाएका छन्।
प्रतिक्रिया