एक घण्टाको अन्तर्वार्ताको लागि २० लाख डलर ?

एक घण्टाको अन्तर्वार्ताको लागि २० लाख डलर ?


मेलबर्न, अष्ट्रेलिया ।

केही समय अघि अष्ट्रेलियाका सबै सञ्चारमाध्यममा र अझ धेरै सर्वसाधारणको मुखमुखमा झुण्डिएको एउटा विषय थियो क्लीयो स्मीथ । उनी थिइन् सानी एउटी बालिका जो आफ्ना आमाबुबासँगै पाल गाडेर बिदा मनाउन गएकी थिइन् । तर, उनी अचानक हराइन् । राति सँगै सुतेकी छोरी विहान उठ्दा थिइनन् । केही सामान चोरिएको थिएन । मात्र छोरी गायब थिइन् । यसपछि सुरु भयो १८ दिन लामो खोजी यात्रा । प्रहरीले यस सम्बन्धी सूचना दिनेलाई मिलियन डलर अर्थात् १० लाख दिने घोषणा समेत गरेको थियो ।

खोजी कहाँ कहाँ भएन ? अष्ट्रेलियाभर उनको खोजी भयो । अहिले यिनै क्लीयो स्मीथका आमाबुबासँग अष्ट्रेलियाको च्यानल ९ ले एक्सक्लुसिभ अन्तर्वार्ताका लागि २० लाख डलरको सम्झौता गरेको कुरा फेरि चर्चाको शिखरमा छ । च्यानल नाईनले यहाँका अन्य व्यवसायिक प्रतिस्पर्धीलाई उछिन्दै यो अन्तर्वार्ता गर्ने अवसर सुरक्षित गरेको थियो । तर, वेष्टर्न अष्ट्रेलियामा रहेको नाकाबन्दीका कारण त्यहाँसम्म जान भने चर्चित कार्यक्रम ६० मिनेटकी एंकरलाई सम्भव भएन ।

यसपछि जुमको माध्यमबाट अन्तर्वार्ता गरिएको थियो । यति धेरै रकम खर्च गरेर तयार पारिएको यो कार्यक्रम आईतबार प्रशारण भयो । कार्यक्रमको समयमा अष्ट्रेलियाभर नै यो नम्बर एकमा हेरिनेछ भन्ने अपेक्षा थियो तर भयो अर्कै । राति ८ बजेर ४० मिनेटमा प्रशारण गरिएको यो कार्यक्रमलाई अन्य टेलिभिजनमा प्रशारित अन्य तीन कार्यक्रमले पछि पारिदिए । अर्थात् यो भयो चौथो दर्शकको रोजाईका हिसाबले ।

अन्तर्वार्तामा क्लीयोका बुबाआमालाई देख्न सकिन्छ । उनकी आमा एली स्मीथ र जेक ग्लीडोन । यी दुबैले छोरीको खोजीको क्रममा पनि धेरै गाली खाएका थिए । कतै छोरी हराउनुमा यिनकै हात त छैन भन्नेसम्मको आशंका गरियो । प्रहरीले पनि यसतर्फ अनुसन्धान गरेकै थियो । तर परिणाम भने एक आदिवासी युवकले क्लीयोलाई लगेको र शारीरिक रुपमा कुनै हानी नगरीकन पालेर राखेको पाइएको थियो ।

आईतबार प्रशारित कार्यक्रमलाई ७ लाख ५० हजार मानिसले एकैपटक हेरेका थिए । सोही समयमा प्रशारित सेभेन न्यूजले १० लाख ९ हजार ५ सय दर्शक पाएको थियो भने नाईन न्यूजले ८ लाख २७ हजार तथा ाईन न्यूजकै म्यारिड एट फस्र्ट साईटले ८ लाख २५ हजार दर्शक पाएको आंकडा छ । च्यानल नाईनका लागि एंकर टारा ब्राउनले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।