राप्रपाका अध्यक्ष लिङ्देनले घरमै पुगेर कमल थापालाई भेटे, छलफल सकारात्मक

राप्रपाका अध्यक्ष लिङ्देनले घरमै पुगेर कमल थापालाई भेटे, छलफल सकारात्मक


काठमाडौं २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्लेनले पूर्वअध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन् । राप्रपाको महाधिवेशनपछि पहिलोपटक अध्यक्ष लिङ्देन र पूर्व अध्यक्ष थापाबीच भेटवार्ता भएको हो ।
महाधिवेशनमा पराजयपछि असन्तुष्ट रहँदै आएका थापालाई भेट्न लिङदेन बुढानिलकण्ठस्थित उनको निवासमै पुगेका थिए । महाधिवेशनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै यसबारे छानविनका लागि थापाले पार्टीमा दवाव दिँदै आएका छन् । तर, आफ्नो माग सुनुवाई नभएको भन्दै थापाले राप्रपाबाट अलग भएर नयाँ पार्टी बनाउने तयारी गरेको समाचारहरु सार्वजनिक भएका थिए । भेटघाट सकारात्मक रहेको लिङदेनको दावी छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्तपदाधिकारी तथा विभागीय प्रमुखहरुको पदस्थापन, स्वागत र मनोनयनपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै लिङदेनले सबैसँग संवादको थालनी गरिएको र कोही निराश हुनु नपर्ने बताए । आफूले निवर्तमान अध्यक्ष थापासँग भेटघाट गरेको र छलफल सकारात्मक रहेको उनले उल्लेख गरे । ‘सानातिना विषयमा नअल्झौं, वृहद राप्रपा निर्माणमा जुटौं,’ उनले भने, ‘देशले राप्रपाको आवश्यकता महसुस गरिरहेको छ र पार्टीले लिएको राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको एजेन्डा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको अवस्थामा राप्रपाले नवीन यात्राको प्रारम्भ गरेको छ ।’