मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले फिजीका लागि गैर आवासीय नेपाली राजदूतको रूपमा ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
फिजीका राष्ट्रपति रातु विलियम माइवालिली काटोनिभेरे समक्ष बुधवार स्टेट हाउसमा आयोजित विशेष समारोहकाबीच आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। ओहोदाको पत्र हस्तान्तरण समारोहमा राजदूत पोखरेलाई गार्ड अफ अनरको सम्मान समेत प्रदान गरिएको थियो।
ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजदूत पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले फिजीका राष्ट्रपति रातु विलियम माइवालिली काटोनिभेरे सुस्वास्थ्य तथा फिजी सरकार तथा जनताको प्रगतिको शुभकामना सन्देश सुनाएका थिए। राष्ट्रपति काटोनिभेरेले आफ्नो नेपाल भ्रमण र पर्वतीय उडानको अनुभवलाई स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गरेका थिए। भेटका क्रममा उनले पुनः नेपाल भ्रमण गरी सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने इच्छा व्यक्त गरेका थिए।
राजदूत पोखरेलले ओहोदाको पत्र हस्तान्तरण समारोहमा प्रधानन्यायाधीश, उपप्रधानमन्त्री तथा विभिन्न विभागीय मन्त्री, सांसदहरूसँग समेत शिष्टाचार भेटवार्ता गरेका थिए। भेटका क्रममा दुवै देशले आपसी सरोकारका विभिन्न विषयमा बहुपक्षीय फोरममा सहकार्य गर्न विषयमा छलफल भएको थियो।
गत जेठ १७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजीका लागि गैर आवासीय राजदूतमा नियुक्त गरेका थिए।
नेपाल र फिजीबीच सन् १९८६ जुन १२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फिजीबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्दपूर्ण रहँदै आएको छ।
प्रतिक्रिया