एसियाली खेलकुदः नेपाली क्रिकेटरले बनाए तीन विश्व किर्तिमान, दीपेन्द्रको ९ बलमै अर्धशतक

एसियाली खेलकुदः नेपाली क्रिकेटरले बनाए तीन विश्व किर्तिमान, दीपेन्द्रको ९ बलमै अर्धशतक


काठमाडौँ ।

नेपालले आज क्रिकेटमा तीन वटा विश्व किर्तिमान कायम गरेको छ। एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल– मंगोलियाबीचको जारी खेलमा तीनवटा किर्तिमान कायम गरेको हो।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिँदै नेपालले ती किर्तिमान कायम गरेको हो। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको छ।

जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो।

दोस्रो, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन। यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन्।

तेस्रो, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरेका छन । यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाईएको छ।