एनआरएनएको केन्द्रीय सचिवमा मनोज श्रेष्‍ठले गरे उम्मेदवारी घोषणा

एनआरएनएको केन्द्रीय सचिवमा मनोज श्रेष्‍ठले गरे उम्मेदवारी घोषणा


काठमाडौँ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का एघारौँ महाधिवेशनमा आईसीसी सचिवका लागि मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले उम्मेदवारी घोषणा गरेका छन्। उनी एनआरएनए एनसीसी युएईको उपाध्यक्ष, आईसीसी सदस्य र मध्यपूर्व उपसंयोजक भइसकेका उनले यसपटक भने आइसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

श्रेष्ठ लामो समयेखि दुबईमा व्यवसाय गर्दै आएका छन्। उनले सन् २००७ देखि एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दै आएका छन्। उनले मध्यपूर्वका राष्ट्रलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दै आइ रहेका छन्।

विपत्तमा परेका नेपालीको उद्धार तथा सहयोगका लागि श्रेष्ठ अग्रस्थानमा रहने गरेका छन्। कोभिड–१९ को महामारीमा पनि उनले कालमा नेपालमा अक्सिजन सिलिन्डर पठाउने अभियानमा समेत सक्रिय भूमिका निभाएका थिए। श्रेष्ठले आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको तर्फबाट नेतृत्व समेत गरेका थिए।

उनले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूको हक–हितका लागि आईसीसीमा निरन्तर आवाज उठाउँदै आएका छन्। नेपाली श्रमिकका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

श्रेष्ठ कर्ममुखी बन्नुपर्छ भन्ने सिद्धान्तबाट आफू प्रेरित भएको बताउँछन्। एनआरएनएमा रहेर गरेका सामाजिक कार्य र योगदानहरूको सबैले मूल्यांकन गरेका कारण यसपटक सचिवमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ।

मध्यपूर्वको नेतृत्वमा रहँदा पाएको अवसरले आफ्नो नेतृत्त्व क्षमता विकास भएको उनी ठान्छन्। विश्वभर रहेका नेपालीहरूलाई एकताको सुत्रमा बाँधेर सर्वाङ्गिण हितका लागि काम गर्न प्रेरित गरेको श्रेष्ठको भनाइ छ।

यूरोप, अफ्रिका, अमेरिका, अष्ट्रेलियामा रहेका नेपालीहरूको व्यथासमेत मध्यपूर्वमा कार्यरत नेपालीहरूको व्यथाभन्दा फरक नरहेको उनको बुझाइ छ।

‘विश्वभर रहेका लाखौं नेपालीहरूको मुद्दामा नेपाल सरकारलाई जिम्मेवार बनाउन आफ्नो उम्मेदवारीले महत्त्व राख्ने छ,’ उनी भन्छन्, एनआरएनए अभियानकर्मीहरूको माया र नेपाली समुदायको साथका कारण यसपटक आफू विजेता बन्छु।