मेलबर्न अष्ट्रेलिया ।
साउथ अष्ट्रेलियामा येँया पुन्ही इन्द्र जात्रा फेस्टिभल हुने भएको छ। गुठी साउथ अष्ट्रेलियाको आयोजनामा अक्टोबर १ तारिख कॉसग्रोव हल क्लोवेल्ली पार्कमा येँया पुन्ही इन्द्र जात्रा फेस्टिभल हुन लागेको हो।
निःशुल्क प्रवेश रहेको यस कार्यक्रममा कुमारी जात्रा, लाखे, पुलुकिसि, धिमे बाजा, समयबजी समाबेश गरिएको छ। यस वर्ष जात्रामा नयाँ प्रस्तुतिका रूपमा कुमारी नृत्य, ब्रजयोगिनी नृत्य,पञ्च बुद्घ नृत्य, चार्य नृत्य, मञ्जुश्री नृत्य पनि समाबेश गरिएको गुठी साउथ अष्ट्रेलियाका सहसचिव सजिन प्रधानाङ्गले जानकारी दिए।
नेपालका अनमोल प्राचीन सम्पत्तिको रूपमा रहेका सांस्कृतिक सम्पदाहरूलाई विश्वमाझ चिनाउँदै लैजानुका साथै रीतिरिवाज, कला संस्कृतिलाई साउथ अष्ट्रेलियाबासिहरु बिच चिनाउने प्रयास स्वरूप इन्दजात्रा कार्यक्रमको आयोजना गरेको उनले बताए।
यस्ता कार्यक्रमले नेपालभित्रका रितिरिवाजहरुको संवर्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोस्रो पुस्ताले समेत आफ्नो संस्कृतिको बारेमा सिक्ने मौका पाउनेमा गुठी साउथ अष्ट्रेलिया विश्वस्त रहेको उनको भनाइ छ।
सहसचिव प्रधानाङ्गले कार्यक्रममा उपस्थितका लागि सम्पूर्ण एडिलेडबासी नेपालीहरूलाई अनुरोध गरेका छन्।
गुठी साउथ अष्ट्रेलिया नेवाः संस्कृति संरक्षण र संवर्धन गर्ने उद्देश्यका साथ सन् २०१५ मा स्थापना भएको संस्था हो। यस संस्थाले साउथ अष्ट्रेलियामा नेवाः संस्कृति संरक्षण र संवर्धन गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
प्रतिक्रिया