देशभर वर्षा, ठाउँठाउँमा हिमपात

देशभर वर्षा, ठाउँठाउँमा हिमपात


काठमाडौं २१ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज शुक्रवार देशभर पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । अहिले पन देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भइ धेरै ठाउँमा मेघगजर्न, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले निकालेको पछिल्लो मौसमी विवरणमा काठमाण्डौमा ४१ मिलिमिटर वर्षा भएको छ । बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरि, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । काठमाण्डौमा उपत्यकामा दिनभर घाम नदेखिएकाले आज निकै जाडो महसुस गरिएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ९ र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।
आज सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ । त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुङ्गामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ ।
अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनबाट यो प्रणाली हटेर क्रमिक रूपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगजर्न, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा मपातको सम्भावना रहेको छ ।